राउटे बस्तीमा अन्य व्यक्ति जान रोक

  • प्रकाशित मिति : २०७८ जेष्ठ २४, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। जिल्ला प्रशासन कार्यालय सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

‘पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस्तीमा जान रोक लगाएका हौं,’ उनले भने ।



उनका अनुसार बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् ।

सम्बन्धित समाचार ….
राउटे युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटना अन्य समुदायका नागरिकले राउटे बस्तीसम्म पुर्‍याउन सक्ने सम्भावना बढेपछि बस्ती प्रवेशमा रोक लगाएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले नै अस्वीकार गर्ने र भित्रै कडा सजाय दिन सक्ने प्रहरीको भनाइ छ । त्यसकारण सोमबार बिहानैदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिइएको डीएसपी घर्तीले बताए ।

आइतबार राउटे मुखिया सूर्यनारायण शाहीले अन्य समुदायका नागरिक आएर आफ्ना जनतालाई दुःख दिन थालेको भन्दै सुरक्षा व्यवस्था गरिदिन माग गरेका थिए ।