पाँच हजार दिँदा पनि सन्तोषीले सेक्स गर्न नदिएपछि हत्या गरेको अभियुक्तको बयान

  • प्रकाशित मिति : २०७८ असार १०, बिहीबार
  • nepaltale.com

काठमाडौ । चराचुरुंगीको आवान निकालेर चर्चामा आएकी सन्तोषी सुब्बाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकालीबाट एक बसका सहयोगी २८ वर्षीय सुरेश तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको हो ।

सन्तोषी गएको मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी थिइन् । प्रहरी अनुसन्धानबाट उनको हत्या भएको खुलेको थियो ।

सन्तोषी काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर बस्दै आएकी थिइन् । उनी धनबहादुरसँग १७ वर्षदेखि बस्दै आएको देखिएको छ ।

प्रहरीका अनुसार उनी तीन दिनदेखि सम्पर्कमा थिइनन् । उनले धनबहादुरलाई आफू ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिइन् । घटनाको महानगरीय अपराध महाशाखा र परिसर काठमाडौंले अनुसन्धान गरेको थियो ।

प्रहरीका अनुसार सन्तोषी हिँडिरहने स्वभावकी भएको खुलेको छ । उनी घरबाट निस्केपछि फर्पिङ पुगेर होटेलमा बसेको खुलेको छ । अपराध महाशाखाका एक अधिकारीले भने, “उनी होटेलमा बसेको खुलेको छ । त्यहीँ बसेर चियाँ खाने क्रममा उनको ६ गते सुरेशसँग भेट भएको देखिन्छ ।”

सुरेशले सन्तोषीलाई आफ्नो ‘बसमै सुतौँ’ भनेर प्रस्ताव गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । एक प्रहरी अधिकारीले सुरेशको भनाइ उद्धृत गर्दै भने, “मैले सन्तोषीलाई पाँच हजार दिएँ । सम्बन्ध राख्नकै लागि शौचालयतर्फ लगेर गएँ । तर, नमानेपछि हत्या गरेँ ।”

उनले बलात्कार भने नगरेको दाबी गरेको ती प्रहरी अधिकारीले बताए । उनले पाँच हजार रुपैयाँ दिएको बताए पनि सो रकम न सन्तोषीको साथमा न त पक्राउ परेका सुरेशको साथमा भेटिएको छ । यसले रकम दिएको होइन कि भन्ने आशंका जन्मिएको ती अधिकारीले बताए ।

चिकित्सकको टोलीले सन्तोषीको शरीरबाट स्वाब संकलनसमेत गरेको छ । सन्तोषीले प्रतिकार गर्दा सुरेशको हातमा लागेको चोटसमेत देखिएको जनाइएको छ ।

प्रहरीले सुरेशको कोठाबाट सन्तोषीले प्रयोग गर्र्दै आएको मोबाइलसमेत बरामद गरेको छ । घटनास्थलबाट बरामद प्रमाण र सुरेशको साथबाट बरामद भएको प्रमाणले हत्यामा उनको संलग्नता पुष्टि भइसकेको महाशाखाका अधिकारीहरु बताउँछन् ।

हत्यापछि पछि अनुहारमा ढुंगाले प्रहार गरेको पनि प्रहरीको भनाइ छ । हत्या गरी भागेका सुरेशलाई प्रहरीले कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो ।