जेसिबीको बकेटले हानी वडाअध्यक्षको हत्या गर्ने चालक पक्राउ

  • प्रकाशित मिति : २०७८ असार १२, शनिबार
  • nepaltale.com

सर्लाही। ईश्वरपुर नगरपालिका–३ बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको बिवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्ष हत्या अभियोगमा चालक पक्राउ परेका छन् ।

५५ वर्षीय वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका चालक हरिपुर नगरपालिका–१ हजारबिघा बस्ने रबिन तामाङ भन्ने ४० वर्षीय हर्कबहादुर गोलेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त बिषयमा वडा अध्यक्ष सूर्य कुमारसँग जेसिबी ठेकदार ईश्वरपुर नगरपालिका–३ भक्तिपुर बस्ने ३१ वर्षीय प्रेमराज दाहाल, पोखरी ठेकदार सोही ठाउँ बस्ने ४० वर्षीय ईन्दल सहनी र जेसिबी चालक हर्कबहादुरबीच शुक्रबार राति बिवाद हुँदा हर्कबहादुरले आवेशमा आई जेसिबी स्टार्ट गरी वडाअध्यक्षलाई हानेर खाल्टोमा पुरेको भन्ने खबर पाएपछि प्रहरी घट्नास्थल पुगेको थियो ।

घट्नाको खबर हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक समेतको टोली खटिई वडा अध्यक्षलाई उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा जिल्ला अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका चालक हर्कबहादुरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायत मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सर्लाही लालबन्दीमा फेला पारी पक्राउ गरेको हो ।

साथै प्रेमराज दाहाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।