काठमाडौं। अस्ति हिजो आज अनी भोली गरी कहिलेसम्म सहनु पर्ने हो हजुर कहिले सम्म अमानवीय जीवन जिउनु पर्ने हो ? अहिले रुपा सुनारलाई दलित भएकै कारण गैरदलितको घरको कोठामा नअटाएको बिषयले देशनै हल्लाएको छ ।
अहिलेसम्म हाम्रो समाजमा कथित उपल्लो जातिले कैयौँ पटक यस्ता विभेद गरिरहदाँ हामी यस्ता विभेदलाई सानो घटना समय संगै परिवर्तन हुनेछ भनी चुप लागेर बसिरहृयौ । तर एक शिक्षित अनि नागरिकको अधिकारको बिषयमा बोल्न चाहने व्यक्ति स्वयं पिडित भएपछि सिंगो समाजको प्रतिनिधित्व गर्दै आफ्नो अधिकारको लागी आवाज उठाउदा अहिले “तिमीले दलित भएर कोठा पाएनौ म गैरदलित भएर कोटा पाईन “ भन्ने बिषयमा नसुहाँउदो वादविवाद खडा गर्दै अनावश्यक द्धन्द्ध सृजना गरिरहेका छन ।
स्मरण रहोस् ,कोटा तिम्रा बाउले भान्जालाई टिका लगाएर दिएको दान जस्तो हैन महाशय !! मेरो पुर्खाले गुमाएको अंशको सानो राहत मात्र हो । मेरा पुर्खाले तिम्रो एक डोको मकैमा बर्षभरि तिम्रो औजार बनाईदिएका थिए, तिम्रो जिउ ढाक्ने वस्त्र बनाईदिएका थिए,तिम्रो मन्दिर सजाउने मुर्ति बनाईदिएका थिए,तिम्रो बिहेका नाचगान गर्दिएका थिए, तिम्रो पुर्खा त्रिभुवन विश्वविद्यालयमा भर्ना हुदाँ मेरो पुर्खाले क,ख,ग….समेत भन्न पाएन । तर पनि, आज बिना कोटा सोमपाल कामी ले विश्व हल्लाएका छन् ,प्रकाश सपुत, राजु परियार ,शिव परियार , रीमा बिश्वाकर्मा ,शंकर बी सी यश कुमार लगायत आदी पनि बिना कोटा कलाकार भएका हुन् ।
आज जम्मा ९ प्रतिशत कोटामा नौ थरी रुवाईधुवाई नगरे हुन्छ । यो ९ प्रतिशत आरक्षण बाहेक बाँकी सबै कोटा गैरदलितहरुका लागी पनि हो । हटाउ कोटा , कोटा ले हामीलाई धेरै बेर रोक्ने छैन । खुल्ला लड्न सक्छौ, अझै पनि अघि बढ्न सक्छौ तर तिमीले बनाएको जातियताको पर्खालले भने तिमीलाई ,मलाई, समाज अनि सिंगो राष्ट्रलाई पनि रोक्ने छ । जाती विभेद दलितको मात्र समस्या हैंन नि हजुर खै बुझेको ?
मेरा पुर्खाले तिम्रो एक डोको मकैमा बर्षभरि तिम्रो औजार बनाईदिएका थिए, तिम्रो जिउ ढाक्ने वस्त्र बनाईदिएका थिए,तिम्रो मन्दिर सजाउने मुर्ति बनाईदिएका थिए,तिम्रो बिहेका नाचगान गर्दिएका थिए, तिम्रो पुर्खा त्रिभुवन विश्वविद्यालयमा भर्ना हुदाँ मेरो पुर्खाले क,ख,ग….समेत भन्न पाएन ।
आज हामीले बेलामै विचार पूर्याएनौ भने भोली यसले निम्त्याउने द्वंद झनै ख़तरनाक हनेछ , राम्रो त के हुनेछ भने समयमै जातिवादको विरुद्धमा सबैजना एक भएर लाग्नुपर्यो । हिजो हाम्रो पुर्खामा पढ़ाई अनी चेतना पुगेन ,बोलेनन आज बिस्तारै बोलेका छन , अहिलेका पुस्ता खाडीको पसिनाले भएपनि शिक्षाबाट विमुख छैन, संसार देखेका छन ,आज हामीले बोलेको भन्दा १० गुणा हाम्रा अबका पुस्ताले बोल्ने छन् ,त्यो बेलामा पनि तिमी हामी अझै सुध्रिएनौ भने बुढेसकालमा पछुताउनु बाहेक अरु कुनै विकल्प हुने छैन । तराई रोएको पहाडले अनि दलित रोएको गैरदलितले देख्नु पर्यो । तराई गर्जदा भारत नसम्झनु, दलित गर्जिदा एन।जि।ओ। आई।एन।जि।ओ। सम्झने चस्मा बदल्नुपर्यो ।
हामी पनि त तिमीले पहिले शोषण गर्यौ अब हामी शोषण गर्छौ अब दलितले मात्र यो देश खान्छौ भनी आवाज उठाएका हैनौ नि । । महिलाको लागी ३३ प्रतिशत जनजातिका लागी २७ प्रतिशत, मधेसीका लागी २२, दलितको लागी ९, दुर्गम क्षेत्रको लागी ४ र अपांगको आरक्षणमा ५ प्रतिशत गरी सरकारले आरक्षणको लागी १०० मा जम्मा ४५प्रतिशत मात्र छुट्याएको छ । ९ % कोटा लिएपछि विभेद सहनुपर्छ भन्ने खालको तिम्रो तर्क ३३ %अधिकार लिएको महिलाले नि विभेद सहनु पर्छ भन्दैनौनि त किन ? किन कि महिलामा त गैर दलित पनि पर्छिन नि हैन र ?
वाह तिम्रो सोच पहिलेदेखी चलिआएको चलन सजिलै कहाँ हट्छ र भनी कोटालाई अर्को भयानक जातिय विभेद निम्त्याउने बिषय बनाउँदा ए मेरा पढेलेखेका गैर दलित साथीहरु तिमीले भनेका भनाईले मुटु घोच्छ । यसै गरि कहिले सम्म पुस्ता हस्तांतरण गर्छौ ? कैयौँ बर्षदेखी चलिआएको सतिप्रथा त हटाउन मिल्ने रैछ त त्यसैगरि यो जातिय विभेदलाई पनि यही अन्त्य गरौँ, सकिदैन र ? याद छ नि गौतम बुद्ध हाम्रो हो भन्दै हामी पनि तिमी सँगै चिच्याउँछौ, सगरमाथा हाम्रो हो भन्दै हामी पनि तिमी सँगै चिच्याउँछौ ।
लिपुलेख र कालापानीमा हामी पनि तिमीसँगै कराउछौँ त । विश्वमा नेपालले जित्दा हामी पनि तिमी सँगै रमाउँछौ त । विकेट लिदा “सोमपाल कामी सारै दामि” भन्ने तिमीलाई सोमपाल कामी कै आमा लाई कुवाँ को पानीमा किन रोक्छौ रु हून त हामी मा मानवता बाक़ी नै कहा छ र हजुर , नवराज घटना को पीड़ित ले अझै न्याय पाएकै छैनन ।
बिश्वमा हाम्रो नेपाल मात्र यस्तो देश हो जहाँ सिमाना बचाउने ले नेपाली हुँ भनेर प्रमाण पेश गर्दै हिड्नु परेको छ । मुर्ति बनाउनेले म पनि मान्छे हुँ भनी आफ्नो अस्तित्वको प्रमाण दिदै हिड्नुपरेको छ ।
जबसम्म नेपालीले नेपाललाई चिन्दैन, मान्छेले मान्छेलाई चिन्दैन, के यो मान्छेकै देश हो ? भन के यो हामी नेपाली कै देश हो ?