कीर्तिमानसँगै इटाली क्वाटरफाइनलमा

  • Published Date : 2021-06-27
  • nepaltale.com

एजेन्सी इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे। अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए।



प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो। अष्ट्रियाले एक गोल फर्कायो।

खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको सुरुवाती अग्रता दिलाए। उनले लियोनार्दोको पासमा गोल गरे। उनी खेलको ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए। फ्रान्सिस्कोको पासमा गोल गरेका उनी ६७ औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए।

त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो। उनले लुइसको पासमा हेडमार्फत गोल गरे। तर, उनको गोलले टिमलाई हारबाट जोगाउन भने सकेन।

त्यसअघि ३२ औं मिनेटमा इटालीका सिरो इमोबाइलको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो। यस्तै ६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नुटोभिकले गोल गरेका थिए। तर, भीएआर रिभ्युमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन।

यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो।

इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो। सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन।

यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ। इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताको समूह चरणमा इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। समूह चरणमा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो। पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बनेको थियो। समूह चरणमा अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो।