बेल्जियम क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

  • Published Date : २०७८ असार १४, सोमबार
  • nepaltale.com

एजेन्सी। बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।

सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे। खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन्। थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।



पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन। पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए। यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ। पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। अष्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराउँदै इटालीले अन्तिम आठको यात्रा पक्का गरिसकेको छ।

समूह चरणमा अपराजित बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो। फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो।

पोर्चुगलले ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणमा ३ खेलमा ४ अंक जोडेको पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो।