बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

  • Published Date : २०७८ असार १९, शनिबार
  • nepaltale.com

एजेन्सी। फिफा बरीतयाको शीर्ष स्थानको बेल्जियमलाई पराजित गर्दै इटाली १६ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलको दोस्रो खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्थान बनाएको हो ।

जर्मनीकोे एलिनाज स्टेडियममा भएको खेलमा इटालीलाई जित दिलाउन निकोलो बरेलाले र लोरेन्जो इन्सिन्गेले एक–एक गोल गरे । उता बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए ।



इटालीका लागि खेलको ३१ औँ मिनेटमा निकोलो बरेलाले गोलगर्दै टिमलाई अग्रता दिलाए । ४४ औँ मिनेटमा लोरेन्जो इन्सिन्गेले गोल गर्दै इटालीको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा बल्जियमले पेनाल्टी पायो । बेल्जियमका लागि रोमेलु लुकाकुले गोल फर्काउपनि टिमको हार भने टार्न सकेनन् । जितसँगै इटालीले सेमिफाइनलमा स्थान बनाएको छ ।

यता बेल्जियम भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले अब सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।