बाँस्कोटालाई ‘राष्ट्रिय सहकारी पुरस्कार’

  • Published Date : 2021-07-03
  • nepaltale.com

काठमाडौं। नेपालको सहकारी अभियानको अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटा ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय सहकारी महासंघ, नेपालले उहाँलाई ६४ औं राष्ट्रिय सहकारी दिवस (चैत २०)को दिन ‘राष्ट्रिय सहकारी पुरस्कार’ बाट सम्मान गर्ने घोषणा गरेको थियो । ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज आयोजित विशेष समारोहमा पूर्व गृहराज्य मन्त्री समेत रहेका बाँस्कोटलाई सम्मान गरिएको हो ।



भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले सम्मान प्रदान गरेका छन् । पाँचथरको फिदिम नगरपालीका-७ मा जन्मीएका बाँस्कोटा नगद पचास हजार सहित सम्मानित भएका हुन् ।

बाँस्कोटाले नेपालका सहकारी अभियानमा पुर्याएको योगदानको कदर स्वरुप ‘राष्ट्रिय सहकारी पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ । सहकारी ऐन-२०४८ र नियमावली निर्माण बाँस्कोटाकै नेतृत्वमा भएको थियो ।

समुदायको सामाजिक आर्थिक विकासमा सहकारी जस्तो शसक्त माध्यम नभएको निष्कर्ष विदेश भ्रमणबाट निकालेपछि जनतासँग प्रत्यक्ष जोडिएको सहकारी अभियानमा पूणर्त होमिएका थिए । उर्जा र शिक्षा सँगालेका युवा अनि नवीन र पहुँचयोग्य प्रविधिको उपलब्धताले सहकारीलाई समाजवादको सारथी बनाउन सकिने बताउँछन् ।

बाँस्कोटा पूर्व गृह राज्यमन्त्री, राष्ट्रिय सहकारी विकास बोर्डका प्रथम अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका संस्थापक रहेका छन् । सहकारी प्रारुपमा पाँचथरमा सञ्चालित कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष, महर्षि फाउन्डेशनका अध्यक्ष लगायत अन्य केही उद्योग व्यवसाय र सामाजिक संघ संस्थाहरुमा प्रत्यक्षपरोक्ष संलग्न रहेका छन् । हाल सहकारीबाट सञ्चालित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरको पनि अध्यक्ष रहेका छन् ।