इंग्ल्याण्डकाे नयाँ इतिहास, पहिलो पटक युरोकपको फाइनलमा, डेनमार्क २-१ ले पराजित

इंग्ल्याण्ड १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल

  • प्रकाशित मिति : २०७८ असार २४, बिहीबार
  • nepaltale.com

काठमाडौं। इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई दुई एकले हराउँदै इंग्ल्याण्ड ५५ बर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । इंग्ल्याण्डको जितमा हेरी केनले निर्णायक गोल गरे ।

लण्डन स्थित वेम्ब्ली रंगशालामा इंग्ल्याण्डले डेनमार्कको सुरुवाती एक गोलको अग्रतालाई उल्ट्याएको होे । निकै आक्रामक खेल खेलेको इंग्ल्याण्डले १३ औं मिनेटमा राम्रो मुभ बनाएको थियो । उसका रहिम स्ट्रलिङको प्रहारलाई डेनीस गोलकिपरले बचाए ।

२५ औं मिनेटमा डेनमार्कले राम्रो अवसर गुमायो । उसका डाम्सगार्डले गरेको प्रहार पोष्ट बाहिर रह्यो । तर खेलको ३० औं मिनेटमा डेनमार्कले अग्रता बनायो । उसका लागि मिकेल डाम्सगार्डले उत्कृष्ट गोल गर्न सफल भए । उनले प्रहार गरेको फ्रिकिक सोझै गोलमा परिणत भयो । जारी युरोकपमा फ्रिकिकमा सोझै गोल भएको यो पहिलो पटक हो ।

एक गोलले पछि परेको इंग्ल्याण्डका रहिम स्ट्रलिङले ३८ औं मिनेटमा गोलको प्रयास गर्दा सफल भएनन् । तर ३९ औं मिनेटमा इंग्ल्याण्डले खेल बराबरी गर्न सफल भयो । साकाले गरेको प्रहारलाई क्लियर गर्ने क्रममा डेनमार्कका डिफेन्डर तथा कप्तान सिमोनले आत्मघाती गोल गर्न पुगे । जारी प्रतियोगितामा यो ११ औं आत्मघाती गोल हो ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा इंग्ल्याण्डले अर्को अवसर गुमायो । इंग्ल्याण्डका हेरी मगुइराको हेडर प्रयासलाई डेनीस गोलकिपरले विफल पारे ।

५९ औं मिनेटमा डेनमार्कका ब्रेथवेटको पासमा डोलबेर्गले गरेको प्रहारलाई इंग्ल्याण्डको गोलकिपर पिकफोर्डले बचाए । ६४ औं मिनेटमा फेरी एकपटक डेनीस गोलकिपरले मासोन माउन्टको प्रहारलाई उत्कृष्ट बचाउ गरे । माउन्टले डिबक्स भित्रबाट गरेको प्रहारलाई सिमिसेलले बचाए ।

त्यसपछि दुबै टिमबाट डरलाग्दो आक्रमण हुन सकेन र खेलको निर्धारीत ९० मिनेट एक एक गोलमा टुंगियो र अतिरीक्त समयमा धकेलियो । खेलको ९४ औं मिनेटमा हेरी केनको सशक्त प्रहारलाई डेनीस गोलकिपरले उत्कृष्ट बचाउ गरे । डिबक्स भित्रबाट केनले गरेको प्रहारलाई गोलकिपर कास्पेरले उत्कृष्ट तरिकाले बचाए ।

खेलको एक सय दुई मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पायो । उसका स्ट्राइकर रहिम स्ट्रलिङलाई डेनमार्कका महिलले फल गरेपनि पाएको पेनाल्टीलाई हेरी केनले गोलमा परिणत गरे । उनको पहिलो प्रहारलाई डेनमार्कका गोलकिपर कास्पेरले बचाएपनि रिबाउण्डमा केनले नै गोल गरे ।

खेलकाे अन्तिममा डेनमार्कले खेलमा फर्कनका लागि निकै दबाव दिएपनि सफल हुन सकेन । जसका कारण उसकाे फाइनलमा पुग्ने सपना अधुराे बन्याे ।

इंग्ल्याण्ड १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो भने युरोकपमा पहिलो पटक फाइनलमा स्थान बनायो । अब उसले उपाधिका लागि जुलाई ११ मा वेम्ब्लीमा नै इटलीसँग खेल्नेछ । इटलीले पहिलो सेमिफाइनलमा स्पेनलाई चार दुईले हराउँदै फाइनलमा पुगिसकेको छ ।