अर्जेन्टिना भर्सेस ब्राजिल : कोपाको फाइनलमा कुन टोली बलियो? यस्तो छ विगत

  • प्रकाशित मिति : २०७८ असार २४, बिहीबार
  • nepaltale.com

काठमाडौं । कोपा अमेरिकाको ४७औँ संस्करणको फाइनलमा अर्जेन्टिना र ब्राजिल पुगेका छन् ।

अर्जेन्टिना पेनाल्टीमा कोलम्बियालाई ३-२ ले हराउँदै फाइनलमा पुगेको छ ।

ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो ।

उपाधिका लागि दुई उत्कृष्ट टोली फाइनलमा पुगेका छन् । अर्जेन्टिना र ब्राजिलबीचको फाइनल म्याच रोमाञ्चक हुने अनुमान छ ।

ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल आइतबार बिहान माराकान स्टेडियममा हुनेछ । जारी संस्करणमा ब्राजिल र अर्जेन्टिना अपराजित बन्दै फाइनल पुगेका हुन् ।

ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा एकअर्काविरुद्ध खेल्न लागेका हुन् ।

अर्जेन्टिनाले १४ पटक कोपाको उपाधि हात पारेको छ । यसपटक उसले उपाधि जिते उरुग्वेको कीर्तिमान बराबर गर्नेछ ।

हालसम्म कोपा अमेरिकामा सर्वाधिक १५ पटक उरुग्वेले कोपाको उपाधि जितेको छ ।

सर्वाधिक ५ पटक फिफा विश्वकप जितेको ब्राजिलले भने ९ पटक मात्र कोपा जितेको छ । ब्राजिल सर्वाधिक उपाधि जित्ने टोलीको तेस्रो स्थानमा छ ।

अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक कोपा जितेको थियो । त्यसयता उसले कुनै पनि ठूलो प्रतियोगिताको उपाधि हात पार्न सकेको छैन ।

फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीचको विगत

ब्राजिलसँगको कोपा अमेरिकाको फाइनलको विगत हेर्दा अर्जेन्टिना बलियो देखिन्छ । ब्राजिल र अर्जेन्टिनाले कोपाको फाइनलमा हालसम्म १० पटक एकअर्काको सामना गरेका छन् ।

जसमा ८ पटक अर्जेन्टिनाले उपाधि हात पारेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ ।

अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ ।

जसमा ८ पटक अर्जेन्टिनासँग नै पराजित भयो भने दुई पटक उरुग्वे र एक पटक पाराग्वेसँग पराजित भएको छ ।

ब्राजिलले अहिलेसम्म घरेलु मैदानमा खेलेको सबै कोपाको उपाधि जितेको छ । उसले सन् १९१९, १९२५, १९२९, १९३७ र २०१९ मा आयोजक हुँदा ब्राजिलले उपाधि जितेको हो ।

सन् २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना १९ खेलसमम्म अपराजित छ ।

ब्राजिललाई अन्तिम पटक हराउने टिम पनि अर्जेन्टिना नै हो । सन् २०१९ को नोभेम्बरमा अर्जेन्टिनासँग हारेयता ब्राजिल १३ खेलसम्म अपराजित छ ।