यो वर्ष दशैंको टीकाको साइत कुन देशमा कति बजे ?

  • Published Date : २०७८ आश्विन १५, शुक्रबार
  • nepaltale.com

काठमाडौं । यस वर्षको विजया दशमीको टीकाको साइत १० बजेर २ मिनेट जाँदा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले प्रेस विज्ञप्ति जारी गरी नेपाल लगायत विश्वभर रहेका नेपालीहरुको लागि टीकाको साइतको समय सार्वजनिक गरेको हो ।

भारतको नयाँ दिल्लीमा बस्ने नेपालीहरुका लागि १५ अक्टोबरका दिन उक्त स्थानमा बिहान ५ बजेर ५५ मिनेट जाँदा, न्यूयोर्कमा १५ अक्टोबर बिहान ९ बजेर २१ मिनेट जाँदा, अमेरिकाको केन्टुकीमा १५ अक्टोबरको बिहान ८ बजेर ४५ मिनेट जाँदा, अमेरिकाको टेक्सासमा बिहानको ८ बजेर १५ मिनेट जाँदा, क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेट जाँदा टीकाको साइत रहेको छ ।



त्यस्तै १५ अक्टोबरमा क्यानडामा ८ बजेर ३५ मिनेट जाँदा, जापानमा ११ बजेर ५ मिनेट जाँदा, अष्ट्रेलियाको मेलबर्नमा १० बजेर ३१ मिनेट जाँदा, सिड्नीमा १० बजेर २५ मिनेट जाँदा, ब्रिसवेनमा १० बजेर २९ मिनेट जाँदा टीकाको साइत जुरेको छ । समितिले यस वर्ष बिहानको समय नै टीका लगाउने साइत भएको उल्लेख गरेको छ ।

त्यस्तै असोज २१ गते भएको घटस्थापनाको पूजाको साइत बिहान ११ बजेर ४६ मिनेट जाँदा रहेको छ । नवरात्रीको प्रारम्भ हुने यो दिन धुमधामका साथ घर घरमा पूजाआजा गरिन्छ । यस्तै असोज २२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा नवदुर्गाको मन्दिरका झण्डाहरु फेर्ने साइत रहेको छ ।

असोज २६ गतेको फूलपातीको प्रसिद्ध तुलजा भवानी यात्रा बिहान ७ बजेर ११ मिनेट जाँदाको साइतमा गर्दा उत्तम हुने समितिले जनाएको छ । हिन्दू धर्मावलम्बीको ठूलो पर्व दसैँ घटस्थापनाबाट शुरु भई कोजाग्रत पूर्णिमाका दिन सकिने परम्परा रहेको छ ।