काठमाडौं। कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् ।
रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत आउँदा ११ रातको होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन । रेडलिष्टको सूचीमा रहेका मुलुकबाट बेलायत आउँदा बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्तिले आफ्नै खर्चमा ११ रात तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रति कोठा दुई हजार २८५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ तीन लाख ७४ हजार जति हुन आउँछ ।
आउँदो सोमबारबाट नेपालबाट बेलायत आउनेले अनिवार्य होटल क्वारेन्टाइनबाट मुक्ति पाउनेछन् । हिन्दूहरुको महान चाड दशैको पहिली दिन घटस्थापनाका दिन भएको बेलायत सरकारको निर्णयलाई नेपालीहरुले स्वागत गरेका छन् । तर, दसैँ आउन एक हप्ता भन्दा पनि कम समय रहेको हुँदा महँगो हवाई टिकटको मारमा पर्नुपर्ने यात्रुहरुको पीडा आफ्नै ठाउँमा छ । सामान्य अवस्थामा पनि दसैँको बेला हवाई टिकट महँगो हुने परम्परा रहेपनि छोटो समयमा भएको यो निर्णयले महँगो भाडा तिरेर पनि नेपाल जान कठिन हुने देखिन्छ ।
कोरोना महामारी र लकडाउनका कारण गतवर्ष पनि नेपाल जान नपाएका बेलायतवासी नेपालीलाई दसैँको मुखमा गरिएको यो निर्णयले ठूलो राहत मिलेको छ । नेपाललाई रेड्लिष्टबाट हटाउनको लागि नेपाली दूतावासलगायत बेलायतका विभिन्न संघसंस्थाहरूले आवाज उठाउँदै आएका थिए ।
समाजसेवी एवम् सफल युवा व्यवसायी रविजंग लामिछानेले गत हप्ता भएको एउटा ‘हाइ प्रोफाइल डिनर’ मा बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदसंग नेपाललाई रेड लिष्ट हटाउन आग्रह गरेका थिए । दक्षिण एसियामा नेपाललाई मात्र रेड लिष्टमा राखिनु न्यायोचित नभएको भन्दै लामिछानेले यसलाई गम्भीर रुपमा लिइदिन पनि स्वास्थ्यमन्त्री समक्ष आग्रह गरेका थिए । प्रत्युत्तरमा मन्त्री जाविदले यसमा आफूहरु नजिकबाट काम गरिरहेको र यसबारे पुनर्विचार गरिने आश्वासन दिएका थिए ।