दक्षिणा पाउनुभयो ! अब यसो गर्नुस्, नत्र कारबाहीमा परिएला

  • Published Date : २०७८ आश्विन २९, शुक्रबार
  • nepaltale.com

काठमाडौं। दसैँमा टीकाको जति महत्त्व छ, त्यति नै दक्षिणाको पनि । ठुलाबडाको हातबाट आशीर्वाद टीका ग्रहण गरिसकेपछि दक्षिणाको रूपमा नगद पैसा पाइन्छ । जुन तपाईँले पनि पाउनुभयो होला । वा पाउँदै हुनुहुन्छ । याद गर्नु होस्, अब तपाईँले पाउने पैसा कसरी सुरक्षित राख्ने ?

नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्नुहोस् । सकभर नोटमा कुनै पनि प्रकारको रङ नदल्नुहोस् । नोटमा जथाभाबी लेख्ने, केरमेट गर्ने वा स्टिच गर्ने पनि नगर्नुहोस् । नोटलाई जलाउने वा च्यात्ने जस्ता गैर ऐन विपरीतका काम झुक्किएर पनि नगर्नुहोस् ।



​थाहा छ, यस्तो गतिविधि गरेमा तपाई जेल समेत जानुपर्ने हुन सक्छ । नोटको दुरुपयोग वा जथाभाबी प्रयोगलाई नेपाल राष्ट्र बैङ्कले ऐनमा नै व्यवस्था गरेर दण्डनीय बनाएको छ । मुलुकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभाबी केरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ ।

प्रायः सुकिला र कटकटिएका नयाँ नोट दसैँ तिहारमा नै प्रयोगमा ल्याइन्छ । फेरि नोटको हिफाजतको चुनौती पनि यही दसैँ–तिहारमा नै बढी हुने गर्छ । किनकि दसैँ तिहारमा दक्षिणाका रूपमा प्रयोग गरिने नोटमा अबीर, केशरी, तथा पानी छर्कने चलन छ । सकभर यसो नगर्नुहोस् ।

बरु दक्षिणास्वरुप प्राप्त गर्ने रकमलाई हिफाजतसाथ राख्नुहोस् र कुनै राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुहोस् । ता कि यो लगानीले तपाईँको भविष्य उज्ज्वल हुन सकोस् ।