१० बजेर २ मिनेटको उत्तम साइतबाट लगाउन थालियो टीका

  • प्रकाशित मिति : २०७८ आश्विन २९, शुक्रबार
  • nepaltale.com

काठमाडौँ। नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।

आज बिहान ८:१९ बजे देवी विसर्जन गरेर बिहान १० बजेर ०२ मिनेटपछि टीका लगाउन थालिएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउनका लागि सोही समय शुभ रहेको जनाएको थियो ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०:०२ बजेको दिइएको थियो ।

विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ ।

शुभ साइतको टीका लगाउन शुरू भएसँगै सडकमा मानिसहरुको चहलपहल बढेको छ । सुनसान देखिएको काठमाडौँका सडक पनि टीका र जमरा लगाएका मानिसहरुको चहलपहल शुरू भएको छ । विजयादशमीका लागि मान्यजनकामा जानका लागि मानिसहरु घरघरबाट निस्किएका छन् । यसका कारण सवारीसाधनमा चाप देखिएको छ ।