नेपाललाई पहिलोपटक साफको च्याम्पियन बन्ने अवसर

  • Published Date : २०७८ आश्विन २९, शुक्रबार
  • nepaltale.com

काठमाडौं। नेपालले दक्षिण एसियाली राष्ट्रका पुरुष राष्ट्रिय फुटबल टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसिप अहिले सम्म जित्न सकेको छैन । उपाधि नजितेको मात्र होइन फाइनल पनि पुग्न सकेको थिएन । यसपटक भने नेपाली टोलीले पहिलोपटक फाइनल यात्रा तय गर्दै फरक कथा रचेको छ ।

सुरुवाती दुई खेलमा जित निकाल्दै दमदार सुरुवात गरेको नेपालले भारतसँग १–० को हारपछि केहि दबाब महसुस भने गरेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा बुधबार बंगलादेशलाई १–१ को बराबरी गरेपछि २८ वर्ष लामो इतिहास बोकेको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । टोली च्याम्पियन बन्नका लागि अब एक कदम मात्र टाढा छ । नेपालले फाइनलमा भारतको टोलीको सामना गर्नेछ ।



विगतमा दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) को उपाधि नेपालले दुई पटक जितेपनि त्यसयता सिनियर टोलीले खेल्ने कुनै उपाधि नेपालले जितेको छैन । १९८४ मा भएको पहिलो साग र १९९३ मा बंगलादेशमा भएको छैटौं सागमा नेपालले स्वर्ण पदक जितेयता क्षेत्रिय सिनियर टोलीले क्षेत्रियस्तरको कुनै प्रतियोगिता जितेको छैन । यद्दपी सन् २००४ पछि ओलम्पिक टोली (यू २३) को सहभागिता रहने गरेयता नेपालले १२ औं र १३ औं सागमा लगातार स्वर्ण पदक जितेको थियो ।

फरक फरक नामले आयोजना हुँदै आएको साफ च्याम्पियनसिपको पहिलो संस्करण सन् १९९३ पाकिस्तानमा भएको थियो । त्यति बेला साउथ एसियन एसोसिएसन अफ रिजनल को अपरेसन (सार्क) गोल्ड कपको नाममा आयोजना भएको थियो । झण्डै ३ दशक लामो इतिहास बोकेको २००८ बाट भने साफ च्याम्पिनसिपको नामबाट आयोजना हुँदै आएको छ । विगतामा ८ राष्ट्रको सहभागिता रहने गरेको च्याम्पिननसिपमा ५ राष्ट्र च्याम्पियन बनेका छन् । सर्वाधिक सफल टोलीका रुपमा भारतले ७ पटक, माल्दिभ्सले २ पटक, श्रीलंका, बंगलादेश र अफगानिस्तानले समान एक पटक जितेका छन् ।

नेपाल, पाकिस्तान र भुटानले भने अहिले सम्म च्याम्पिनसिप जित्न सकेको छैन । सागमा सिनियर टोलीले खेल्दा २ पटक स्वर्ण पदक जितेपनि नेपाल साफ च्याम्पिनयसिपमा पटक सेमिफाइनल पुगेपनि अहिले सम्म फाइनल पुग्न सकेको छैन । हरेक पटक दाबेदारका रुपमा हेरिने नेपाली टोली निराश भएर फर्कने गरेको छ । २०१६ मा एएफसी सोलिडारिटी कप, त्यसको केहि अघि बंगबन्धु गोल्ड कप, चैतमा थ्री नेसन्स कप जितेपछि साफ च्याम्पिनयसिप नजित्दा सम्म नेपाललाई दक्षिण एसियाली राष्ट्रको च्याम्पियनको हैसियत पाउने छैन ।