एमालेको पालिका अधिवेशन भोलि, ओलीले थापाथलीबाट उद्घाटन गर्ने

  • Published Date : २०७८ कार्तिक ८, सोमबार
  • nepaltale.com

काठमाडौं। प्रमुख प्रतिपक्ष नेकपा एमाले राष्ट्रिय महाधिवेशनको गृहकार्यमा जुटेको छ । महाधिवेशनअघि वडा र पालिका अधिवेशनमा सम्पन्न गर्ने तयारीमा रहेको एमालेले कात्तिक ९ गते मंगलबार देशैभरका पालिकाहरुमा अधिवेशन गर्दैछ । सो पार्टीले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गते चितवनमा गर्ने तयारी गरेको छ ।

पालिका अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष ओलीले एकैपटक भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । बाढी, पहिरो र डुवानले प्रभावित भएकाबाहेक सवैमा अधिवेशन हुने तामाङले जानकारी दिए । अधिवेशनमार्फत ५ सदस्यीय पदाधिकारी छानिने छन् । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन् ।

पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ तथा उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ । एमालेले यसअघि कात्तिक ६ गते वडा अधिवेशन गरेको थियो ।