प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा राहत माग्ने स्थानीयवासीलाई प्रहरी ले कुटपिट गरेको छ । राहत वितरणमा विभेद गरेको आरोप लगाउदैँ स्थानीयवासीले विरोध गरेपछि प्रहरीले कुटपिट गरेको स्थानीयवासीको आरोप छ । स्थानीयवासीले पारदर्शीरुपमा राहत वितरण गर्न माग गरेपछि जनकपुरधाम–१४ का वडाध्यक्ष पुण्यप्रसाद यादवको निर्देनमा आफुहरुमाथि कुटपिट भएको स्थानीयवासीको आरोप छ । कुटाईबाट एक दर्जन स्थानीयवासीको शरीरमा निलडाम देखिन्छ ।
प्रहरीको लाठीबाट गायत्री महता, राजकुमारी भगत, मधुरी यादव, रामकुमर चौधरी, रिनादेवी यादव, देवेन्द्र महतो, दिपक पटेल, उदय यादव, रामकुमार चौधरी, रामसुखित यादव, उपेन्द्रकुमार साह लगायतकालाई चोट लागेको छ । राहत वितरणमा बड़ाध्यक्ष यादवले विपन्न र गरिवलाई छोडेको आरोप लगाउदै स्थानीयवासीले विरोध गरेका छन् ।
वडाध्यक्ष यादवले भने विपक्षी दलले जानी जानी विरोध गरेको दावी गरे । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका वडाध्यक्ष यादवले नेकपाका प्रतिनिधिले आफूलाई बद्नाम गर्नका लागि षडयन्त्र रचेको आरोप समेत लगाए ।
उता, प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले राहत वितरणको क्रममा वडा कार्यालयमा सामाजिक दुरीको पालना नभएकाले प्रहरीले बल प्रयोग गरेको स्वीकारे । उनले सामाजिक दुरीको पालना र राहत वितरणको क्रममा नारावाजी भएपछि भिडलाई नियन्त्रण गर्ने क्रममा समान्यरुपमा बल प्रयोग गर्नुपरेको उनले स्पष्ट पारे ।
यता, प्रहरीको लाठीबाट कुटाई खाएकाहरुले भने राष्ट्रिय मानवअधिकार आयोग जनकपुरधाममा उजुरी दिने भएका छन् । स्थानीय दिपक पटेलले राहतका लिन गएको गरिब र विपन्न परिवारलाई वडाध्यक्ष यादवले बेवास्ता गरेपछि आफुहरुले त्यसको विरोध गर्दा योजनाबद्ध तवरले कुटपिट भएको आरोप लगाए ।-रातोपाटी