२५ वर्षपछि ‘पुष्पा’ले पूरा गर्‍यो एउटा कमेडियनको भिलेन बन्ने सपना

  • प्रकाशित मिति : २०७८ माघ २२, शनिबार
  • नेपाल टेल संवाददाता

एजेन्सी। गत डिसेम्बर १७ देखि प्रदर्शनमा आएको तेलुगु फिल्म ‘पुष्पा : द राइज’ व्यावसायिक रूपमा हिट सावित भयो। कोरोना महामारीपछिको सबैभन्दा सफल भारतीय फिल्म बनेको ‘पुष्पा’ अल्लु अर्जुनको करिअरको सबैभन्दा ठूलो हिट फिल्म बन्यो।

‘पुष्पा’बाट अल्लु अर्जुनको एक्सनको त धेरैले तारिफ गरे। साथै अन्य कलाकारको काम पनि धेरैले मन पराए। जसमा सुनील वर्मा पनि एक हुन्।



फिल्मका मुख्य खलपात्र मंगलम स्रिनुको भूमिकामा देखिएका सुनीललाई दर्शकले सुरुमै चिन्न सकेनन्। कारण थियो‚ उनलाई खलपात्रको भूमिकामा ‘पुष्पा’भन्दा अघि कसैले देखेका थिएनन्।

सानैदेखि अभिनयमा रुचि राख्ने सुनील फिल्ममा एउटा खतरनाक खलपात्रको रूपमा देखिन चाहन्थे। सन् १९९६ मा उनको फिल्म खेल्ने इच्छा त पूरा भयो तर रोल यति सानो थियो कि उनलाई कसैले सम्झिएन।

पहिलो फिल्म खेलेको चार वर्षपछि उनलाई ‘नुवे कावेली’ नामक फिल्मबाट अफर आयो। भने जस्तो काम नपाइरहेका वेला सुनीलले कमेडियनकै रोल भए पनि गर्न राजी भए। उक्त फिल्म बक्स अफिसमा यति हिट भयो कि रातारात सुनीलको फ्यान फलोइङ पनि बढ्न थाल्यो।

‘नुवे कावेली’को सफलतापछि उनलाई अरू फिल्मबाट पनि त्यस्तै भूमिकाका लागि अफर आउन थाल्यो। उनले पनि फिल्म साइन गर्दै गए।

सन् २००० मा उनका तीनवटा फिल्म प्रदर्शन भए। त्यसपछि हरेक वर्ष पाँचवटा, सातवटा गर्दै एकै वर्षमा दुई दर्जनभन्दा बढी फिल्म समेत उनले गरे।

फिल्म खेलेरै उनको जीवन फेरियो। आर्थिक रूपमा सम्पन्न भए। दर्शकमाझ लोकप्रिय भए तर उनले आफूले खोजेको जस्तो पात्र भने अझै पाएका थिएनन्।

२५ वर्षभन्दा लामो करिअरमा उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरे तर सबै निर्देशकले उनलाई कमेडियनको रूपमा मात्रै खेलाए। एकाध फिल्ममा उनी मुख्य नायक भएर पनि खेले तर खलनायक बन्ने उनको सपना भने पूरा भएन।

आफ्नो महत्त्वाकांक्षी फिल्म ‘पुष्पा : द राइज’का लागि एउटा सुहाउँदो खलपात्र खोजी गरिरहेका सुकुमारले सुनीलमा आफूले खोजेका कुरा पाए। त्यसपछि मंगलम स्रिनुमा सुनीललाई नै अनुबन्ध गरे।

निर्देशकलाई चित्त बुझेर कास्ट गरे पनि दशकौँदेखि कमेडियनको रूपमा देखेका दर्शकले एउटा खतरनाक भिलेनको रूपमा आफूलाई स्विकार्ने हुन् कि होइनन् भन्ने प्रश्न सुनीलको मनमा थियो।

जस्तो पात्रमा काम गर्छु भनेर उनी फिल्म क्षेत्रमा प्रवेश गरेका थिए‚ त्यस्तो पात्र पाउन उनलाई २५ वर्ष लाग्यो। फिल्म प्रदर्शनमा आएपछि दर्शकले उनको काम निकै मन पनि पराए।

‘पुष्पा’को प्रदर्शनपछि २५ वर्षदेखि उस्तै उस्तै पात्रमा देखिइरहेका सुनीलको अभिनय क्षमताको पनि खुलेर तारिफ भयो।