प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा, यस्ता छन् छलफलका एजेण्डा

  • प्रकाशित मिति : २०७८ फाल्गुन ११, बुधबार
  • नेपाल टेल

काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् । एमसीसी र गठबन्धनबारे गम्भीर छलफल गर्न देउवा खुमलटार पुगेका हुन्।

मंगलबार साँझ मात्रै प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीसंग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले भेट गरेका थिए।



भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सुरुमा नै एमसीसी परियोजना एमालेकै सरकारको पालामा संसद्मा दर्ता भएको योजना भएकाले सो परियोजनालाई सरकारले टुंगोमा पु-याउन अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाको सो आग्रहपछि एमाले अध्यक्ष ओलीले आफ्नो दलले विगतदेखि नै केही राजनीतिक मुद्दाको माग राखेर संसद्मा अवरोध जारी राखेकाले ती माग पूरा गर्नेतर्फ सरकारले सहज वातावरण बनाए एमसीसीमा सघाउने बताएको स्रोतको दाबी छ ।

उच्च स्रोतका अनुसार एमसीसीमा एमालेले सघाउने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच ‘जेन्टल एग्रिमेन्ट’ नै भएको छ । ‘उहाँहरूका आफ्ना माग छन्, ती मागका विषयमा भेटवार्ताका क्रममा एमालेकातर्फबाट सरकारलाई ध्यानाकर्षण गराइएको छ, एमसीसीमा प्रधानमन्त्रीज्यूले सघाउन गरेको प्रस्तावमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच जेन्टल एग्रिमेन्ट भएको छ,’ भेटवार्तामा सहभागी एक नेताले भने, ‘फेरि बुधबार छलफल हुन्छ ।’

देउवा र ओलीबीचको यस्तो एग्रिमेन्टले गठबन्धन भने धरापमा परेको छ। एमालेका मागहरू लगभग पुरा गर्ने प्रधानमन्त्री देउवाले वचन दिएका छन्। माग पुरा भए एकीकृत समाजवादीका सांसदहरूको र सभामुख अग्नि सापकोटाको पद जाने निश्चित जस्तै रहेको छ।

एमसीसी टेबल भए पनि सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएको हो।

आइतवार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो। तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको थियो।

संसदमा एमसीसी पास हुनुअघि गत फागुन ५ मा ओलीसँग वार्ताका लागि देउवा बालकोट पुगेका थिए। पत्नी आरजुसहित पुगेका देउवालाई ओलीले पहिले गठबन्धन तोडेमा आफू सहकार्य गर्न तयार रहेको बताएका थिए।

अहिले प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने विकल्प खोजिरहेका छन्। उनी सकेसम्म सत्तारुढ दलबाटै एमसीसी पास गराउने योजनामा छन्। तर माओवादी र समाजवादीले पक्षमा मतदान गर्ने ग्यारेन्टी नभएमा उनी एमालेको साथ लिएर पनि एमसीसी पास गर्ने दाउमा छन्।

तर उता प्रमुख प्रतिपक्षी दलका नेता ओली गठबन्धन टुटाउने शर्तमा ओलीलाई सघाउन तयार भएका छन्। तर देउवाले गठबन्धन टुटाउने सम्भावना कम रहेको सत्तारुढ नेताहरु बताउँछन्।

मंगलबार मात्रै कांग्रेस महामन्त्री गगन थापाले चितवन पुगेर एमसीसीको पक्षमा मतदान नभएमा सत्तारुढ गठबन्धन तोडिने बताएका छन्। उनले एमसीसीको पक्षमा सत्तारुढ सबै दल एक नभएमा गठबन्धन भनेर कांग्रेस बस्न नसक्ने चेतावनी दिएका छन्।