बेलायतमा भोलिबाट सङ्क्रमितले आइसोलेशनमा बस्नु नपर्ने, अरू प्रतिबन्ध पनि हटाइयो

  • प्रकाशित मिति : २०७८ फाल्गुन ११, बुधबार
  • nepaltale.com

एजेन्सी। बेलायतमा कोरोना सङ्क्रमितले भोलिबाट आइसोलेशनमा बस्न नपर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनका अनुसार कोभिड रोकथामका लागि लगाएका अरू प्रतिबन्धहरू पनि बिहीबारदेखि लागू हुनेगरी हटाइएको छ।

यो निर्णयसँगै अब कोरोना सङ्क्रमितहरू आम मानिससरह घुलमिल हुन पाउनेछन्। प्रधानमन्त्री बोरिसका अनुसार सेल्फ आइसोलेशनलगायतका प्रतिबन्धहरू हटाइनु कोरोना भाइरसलाई सामान्य रूपमा लिएर अघि बढ्ने चरणहरूमध्येको एक हो।

उनले भने, “सेल्फ–आइसोलेसन हटाउनु र कोभिड विरुद्धका नियमहरू उल्टाउनु कोरोना भाइरसलाई सामान्य रूपमा लिई अघि बढ्ने चरणहरूमध्ये एक हो। धेरै मानिसहरू जस्तै मलाई पनि लाग्छ कि यो कदम चाल्न जरुरी थियो।”

बेलायतले यसअघि नै जनवरीबाटै अनिवार्य मास्क लगाउने मापदण्ड अन्त्य गरिसकेको छ। प्रधानमन्त्रीको नयाँ घोषणासँगै अब विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुई पटक कोरोना परीक्षण गराउनु पर्ने छैन।

यस्तै बेलायतमा अप्रिल १ देखि निःशुल्क कोरोना परीक्षण पनि बन्द हुनेछ। उनले यो खाले निर्णय गरिए पनि नागरिकहरूलाई आफ्नो ख्याल राख्न भने अनुरोध गरेका छन्।

यता विज्ञहरूले भने सरकारको यस्तो घोषणाले कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।