पल शाह प्रकरण : पीडित नाबालिगको पक्षबाट अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने

  • प्रकाशित मिति : २०७८ फाल्गुन १४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन् । अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी दिएकी हुन् ।

अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई लिएर कानुनी रुपमा व्याख्या समेत गरेकी छन् ।  उनले पीडित बालिकाका विषयमा सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।



अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन् । रायभरको नागरिकताका दुरुपयोग हुँदा उनीमाथि २८ करोड राजस्व नतिरेको आरोप लागेको थियो । उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन् ।

म्युजिक भिडियो सुटिङका क्रममा अभिनेता पलविक्रम शाहले पीडित बालिकामाथि पटक–पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको कसुरमा शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता समेत भएको छ ।  पीडित नाबालिगको तर्फबाट उनका पिताले जाहेरी दर्ता गराएका हुन् ।

उनले लेखेकी छन् : हिजो एक १७ वर्षिया यौनजन्य हिंसाबाट पीडित महिलासंग कुरा भयो । निज पीडित महिलाले उनको पक्षमा कानुनी लडाइमा सहयोग गर्न अनुरोध गरिन् मैले हुन्छ भने । १८ वर्षमुनिका बालबालिका र १८ वर्ष कटेका बालिक मानिसका बीचमा कानुनमा ठुलो अन्तर छ । हरेक बालबालिका कसैका छोराछोरी मात्र होइनन, उनीहरु समाजका छोराछोरी हुन् । बालिकामाथीको बलात्कार भनेको सभ्य समाजको निम्ति लज्जाको विषय हो । बालिकालाई समाजका दानबरुपी पुरुषवाट जोगाउन दिन दिनै जटिल बन्दै गएको छ । १८ वर्ष मुनिका पीडित बालिकाको सहमतिमा पनि करणी गर्न मिल्दैन भन्ने कानुनी ब्यवस्थालाई सबैले हेक्का राखौ । कानुनले बर्जित गरेका क्रियाकलाप गर्ने छुट केही हाई प्रोफाइल वा ग्ल्यामर फिगरलाई छैन । कानुनको रक्षा गर्नु हाम्रो धर्म हो। एउटा घटनालाई लिएर समाज ध्रुवीकरण भएको छ ( सहमतिमा शारीरिक सम्बन्छ भयो अनि अहिले केही मानिसको उक्साहटमा निज पीडकलाइ षडयन्त्र गरियो ) कानुनको बिषय त्यस्तो होइन । घटना र यो बिषयलाइ यसरी बुझ्नु जरुरी छ ….। पल मलाई पनि सबैभन्दा मन पर्ने सेलिब्रेटी हुन् । यिनले यस्तो नगर्नुपर्ने । किन यस्तो गरे भन्ने प्रश्न मेरो मनमा पनि धेरै पटक आएकै हो । तर कानुनको अनविज्ञता कसैलाई क्षम्य हुँदैन । अझ रियल हिरोको उपनाम पाएका व्यक्तिलाई छुट दिनेगरि बहस चलाउनु हुँदैन । कानुनका नजरमा सबै समान हुन्छन् । सबैलाइ एउटै कानुन लागु हुने हो ।
पल-एक १७ बर्सीया बालिकाको काण्डमा बोल्नु अघि विचार गरौ:
१. “मैले कानुन थाहा पाइन भन्न पाइदैन” यो सिद्वान्त हो ।
२. नाबालिकसग सहमतिमा सम्बन्ध भएको हो भन्ने हुदैन किनकि १८ वर्ष मुनिको बालिकासग सहमतिमा पनि करणी गर्न मिल्दैन ।
३. नाबालिकले के कुरामा सहमति गर्ने के मा नगर्ने भन्नेगरि बुझ्ने मानसिक विकास नभएकाले उनले सहमति गरिन” भनेर ब्याख्या गर्न मिल्दैन ।
४ . जो जो ब्यक्तिहरुले उक्साए, षड्यन्त्र गरे भन्ने आएको छ, तिनलाई पनि मतियारमा मुद्दा चल्न सक्छ ।
५ बालिका बलात्कारको घटनालाई मिलाउन खोज्ने , बिषयान्तर गर्ने पीडकको पक्षमा पीडितको विपक्षमा सार्वजनिक टिकाटिप्पणी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन सकिन्छ ।
यदि पल र पीडित बालिकाबीचमा सहमतिमै शारिरिक सम्बन्ध भएकै हो भने यो बलात्कार हो । सबैले संयमता अपनाऔ । घटनाको स्वतन्त्र अनुसंधानमा सहयोग गरौ । अर्को निर्मला पन्त हुनबाट पीडित महिला जोगिएकी छन् । अझै पनि पीडित १७ वर्षिया किशोरीलाइ जहाँ भेट्यो त्यही मार्ने वा आत्महत्या गर्ने बाध्य पार्ने, प्रमाण नस्ट गर्ने ,धाकधम्की र प्रलोभनमा पारेर विषयान्तर गर्ने कोशिश हुदैछ । न्याय अन्याय कसमाथि भयो यो अदालतले निर्योल गर्ने बिषय हो । अनुसंधानमा सहयोग गरौ । १८ वर्षमुनीका बालिकामाथिको बलात्कार गर्ने कुरो कुरुप समाजको नमुना हो । पल शाह प्रहरी सम्पर्कमा नजानु, प्रमाण नस्ट गर्न सक्रिय हुनु , उनका साथीहरु एकपछि अर्को मिडियामा टिप्पणी गर्नु भन्दा प्रहरीमा गई आफ्नो कुरा राख्ने र अनुसंधानलाई सहयोग गर्नु राम्रो होला ।बालिका माथीको बल्तकार तथा सबै प्रकारका हिंसा तत्काल बन्द गरौ ।पीडित १७ वर्षिय युवती हामी धेरै कानुन व्यावसायीहरु तिम्रो पक्षमा निशुल्क बहस गर्न र कानुनी सेवा दिन तयार छौ तिमीले आफु माथीको हिसालाइ लुकाउने होइन उजागर गर्ने प्रयास गरेउ सलाम छ तिम्रो हिम्मतलाइ तिम्रो कानुनी लडाइले समाजमा बालिका बलत्कारको घटना न्युनिकरण गर्न सहयोग गर्ला भन्ने आशा गरेका छौ ।