चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेटवार्ता, के-के भयो कुराकानी ?

  • प्रकाशित मिति : २०७८ फाल्गुन २५, बुधबार
  • नेपाल टेल

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेकी छन्। राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन्।

भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका बारेमा जानकारी गराएको स्रोतले बताएको छ।



स्रोतका अनुसार उनले एमसीसी पास भएपछिको विकसित राजनीतिक परिस्थितिबारे पनि प्रचण्डसँग कुरा गरेकी थिइन्।

चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चेतमा नेपाल भ्रमणमा आउँदैछन्। अमेरिकाले एमसीसीमार्फत नेपालमा उपस्थिति बलियो बनाएपछि चीनले पनि आफ्नो बहुचर्चित विकास परियोजना बीआरआईबारे संवाद गर्ने भएको छ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही सोमबार पत्रकार सम्मेलन गरेर निकट भविष्यमै नेपालमा उच्चस्तरीय भ्रमण हुने जनाएका थिए। तर उनले कुन देशबाट भन्ने खुलाएका थिएनन्।

राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर अध्यक्ष दाहालसँग चासो राखेकी थिइन्। भेटका क्रममा आसन्न स्थानीय तहको निर्वाचन, नेपाल -चीन सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ।

उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको थियो । पछिल्लो समय राजदूत यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन्।

यस्तै ,आजै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डीबेरीले भेट गरेका थिए। उनीहरु बीच एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको थियो।