आरडिटिमा पोजेटिभ आएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति : २०७७ बैशाख २२, सोमबार
  • nepaltale.com

दुइदिन अघि आरडिटि प्रविधिबाट गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएका पाँचथर याङवरक गाँउपालिका ६ का २६ वर्षीय पुरुषको पिसिआर प्रविधिबाट पुनः परिक्षण गर्दा निगेटिभ देखिएको छ ।
उनको थ्रोट स्वाब परिक्षण गर्दा कोशी अञ्चल अस्पतालले गरेको परिक्षणमा कोभिड १९ नभएको पुष्टि भएको हो ।

काठमाण्डौबाट मोटरसाइकल चढेर बहिनीका साथ झापा हुँदै पाँचथर आइपुगेका उनको दुईदिन अघि गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएको थियो । उनीसँगै बसिरहेका सँगै जिल्लाका २० जनामा गरिएको परिक्षण रिपोर्ट पिसिआरमा निगेटिभ आएको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीको भनाई छ ।

यसअघि पनि आरडिटि विधिवाट गरिएका परिक्षणहरुमा पोजेटिभ भएका हरुको पिसिआर रिपोर्ट निगेटिभ आएको थियो । विश्व स्वास्थ संघठनले मान्यता नदिएको आरडिटि परिक्षण नेपालमा भने जारी छ ।
पाँचथरमा मात्रै यो साता ९ सय थान आरडिटि मार्फत क्वारेन्टिनमा वसेका सहित उनीहरुको सम्पर्कमा रहेकाहरुको परिक्षण गरिँदैछ ।