काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै जना गठबन्धन कायम राख्नुपर्ने एकमत देखिएका छन्।
बिहीबार बिहान गृहजिल्ला चितवनस्थित भरतपुर विमानस्थलमा अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्धन वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मात्र नभएर तीनै तह (स्थानीय, प्रदेश र संघीय) का चुनावसम्मै कायम रहने बताए।
उनले भने, ‘गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र संघीय निर्वाचनसम्म पनि रहन्छ।’
यस्तै कांग्रेस सभापति देउवाले पनि बिहीबारै तनहुँमा जिल्ला पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै स्थानीय चुनावमा मात्र नभई तीनै तहका निर्वाचनसम्म गठबन्धन रहने बताएका छन्।
‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ’, उनले भने, ‘उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ।’