काठमाडौं महानगरपालिकामा अहिलेको गतिमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने

  • प्रकाशित मिति : २०७९ जेष्ठ १, आईतवार
  • nepaltale.com

काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि मतगणना सुरु भएको थियो । मतगणना थालेदेखि हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत गणना भएको छ ।

यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार मत खसेको छ । अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै ३४ दिनको समय हो ।

कूल ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा ६३ प्रतिशत मत खसेको थियो । अघिल्लो निर्वाचन २०७४ सालमा यो महानगरको मतगणना सम्पन्न गर्न २ साता लागेको थियो ।