कीर्तिपुरमा कांग्रेसले एमालेबाट खोस्यो मेयर

  • प्रकाशित मिति : २०७९ जेष्ठ २, सोमबार
  • नेपाल टेल

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन्।

एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गरेका हुन्। उनले ९ हजार ४३ मत ल्याए। यस्तै बज्राचार्यले ५ हजार ५०७ मत ल्याएका छन्।

नकर्मी यसपालि कांग्रेसबाट काठमाडौं उपत्यकामा मेयर जित्ने दोस्रो व्यक्ति हुन्। यसअघि दक्षिणकाली नगरपालिकामा मोहन बस्नेतले मेयर जितेका थिए।

उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाएकी छन्।

शाक्य जनता समाजवादी पार्टी (जसपा)की नेता हुन्। उनले रूख चिन्हबाट चुनाव लडेकी थिइन्।

कांग्रेसले १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ। एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ।

कीर्तिपुरमा २०७४ सालमा मेयर र उपमेयर दुबै पदमा एमालेले जितेको थियो।