काठमाडौं। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । सोमबार राति आठ बजेसम्म झण्डै दुई सय पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार १९० पालिकाको मत परिणाम घोषणा भइसकेको छ । जसअनुसार अधिकांश पालिकामा प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा भएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा भएको छ ।
एक तिहाई पालिकामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल भएको थियो । गठबन्धन भएका अधिकांश पालिकामा सत्तारुढ दल विजयी भएका छन् । यसले प्रमुख प्रतिपक्षी एमालेलाई धक्का लागेको छ ।
सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि छ भने एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेस १०७ पालिकामा विजयी भएको छ । एमाले ६४ पालिकामा विजयी भएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्र ५१ पालिकामा विजयी भएको छ ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पाँच स्थानीय तहमा विजयी भएको छ । जनता समाजवादी पार्टी दुई पालिकामा विजयी भएको छ भने स्वतन्त्रसहित अन्य दलहरुबाट ७ पालिका नेतृत्वमा निर्वाचित भएका छन् ।
७५३ स्थानीय तहमध्ये अधिकांश् पालिकाको मत परिणाम मंगलबार रातिसम्म सार्वजनिक भइसक्ने अनुमान गरिएको छ । ६ महानगर र ११ उपमहानगरपालिकाको मत परिणाम आउन भने अझै केहि दिन लाग्ने निश्चित छ ।