५४० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, यस्तो छ दलहरुको अवस्था

  • प्रकाशित मिति : २०७९ जेष्ठ ५, बिहीबार
  • नेपाल टेल

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बिहीबार बिहानसम्म पाँच सय चालिस पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

जसअनुसार अधिकांश पालिकामा प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा भएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा भएको छ ।

एक तिहाई पालिकामा सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेल भएको थियो । गठबन्धन भएका अधिकांश पालिकामा सत्तारुढ दल विजयी भएका छन् । यसले प्रमुख प्रतिपक्षी एमालेलाई धक्का लागेको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि छ भने एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेस २४८ पालिकामा विजयी भएको छ । एमाले १५४ पालिकामा विजयी भएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्र १०० पालिकामा विजयी भएको छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी ९ स्थानीय तहमा विजयी भएको छ । जनता समाजवादी पार्टी १२ पालिकामा विजयी भएको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी १ पालिकामा विजयी भएको छ । राप्रपालगायत विभिन्न दलसहित स्वतन्त्र उम्मेदवारले १६ पालिकामा जित हासिल गरेका छन् ।

७५३ स्थानीय तहमध्ये अधिकांश् पालिकाको मत बिहिबारसम्म सार्वजनिक भइसक्ने अनुमान गरिएको छ । ६ महानगर र ११ उपमहानगरपालिकाको मत परिणाम आउन भने अझै केहि दिन लाग्ने निश्चित छ ।