र्‍याप र र्‍याम्पको हातमा पुग्यो काठमाडौंको राजनीति

  • प्रकाशित मिति : २०७९ जेष्ठ १२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाको निर्वाचनको अन्तिम नतिजा घोषणा हुन बाँकी छ । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित हुँदैछन् ।

बालेन पेसाले इन्जिनियर र र्‍याप गायक हुन् । पाँच वर्षको हुटहुटीपछि उनले काठमाडौंकै मेयरमा बाजी मारेका छन् । बालेनको उदय कांग्रेस र कम्युनिस्टका लागि खतराको घन्टी पनि हो ।



किनभने बालेन ३२ वर्षको उमेरमै मेयर बन्दैछन् । नेपालका प्रमुख दलहरूले ३२ वर्षको उमेरका युवालाई काठमाडौं महानगरमा मेयरमा टिकट दिने त परको कुरा कल्पना समेत गर्दैनथे ।

तर, बालेनको जितपछि भने दलहरूको पुरानो सोचमा ठूलै धक्का लाग्ने देखिन्छ । यस्तै, उपमेयरमा विजयी भएकी सुनिता पूर्व मिस नेवा हुन् ।

पेसाले भन्नुपर्दा उनी मोडल हुन् अर्थात् र्याम्पमा हिँड्छिन् । उनी कुनै दलमा आबद्ध राजनीतिक सोच भएकी नेता कार्यकर्ता पनि होइनन्।

स्वतन्त्र रूपमा काठमाडौंको मेयरमा उम्मेदवारी दिने हल्ला गरेपछि एमाले अध्यक्ष केपी ओलीले सुनितालाई पार्टीको तर्फबाट उपमेयरको टिकट दिएका हुन् ।

६० प्रतिशतभन्दा बढी मत ल्याएर सुनिता विजयी भएकी छन् । देशका अन्य स्थानीय तहमा थोरै भए पनि राजनीतिक सोच भएका प्रमुख उपप्रमुख विजयी भएर आएका छन् ।

तर, काठमाडौं महानगरको राजनीति र्‍याप र र्‍याम्पको हातमा पुगेको छ । उनीहरूले कसरी कस्तो टिम बनाएर काठमाडौंको राजनीति अघि बढाउँछन् भन्ने प्रतीक्षाकै विषय बनेको छ । तर युवा भएकाले बालेन र सुनिताबाट राम्रै काम हुने आशा भने धेरैले राखेका छन् ।