काठमाडौं। काठमाडौं महनगरपालिकाको मतगणना सकिएको छ । मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह निर्वाचित भएका छन् । मतगणना सुरु भएको ११ औं दिनमा सकिएको हो ।
बैशाख ३० गते भएको निर्वाचनको मतगणना बिहीबार साँझ सम्पन्न भएपनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम भने शुक्रबार मात्रै सार्वजनिक गर्ने जनाएको छ ।
मेयर पदमा शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी छन् ।
३३ वडा रहेको काठमाडौं महानगरमा कांग्रेसले बर्चश्व कायम गरेको छ । यसपटक कांग्रेसले २० वडा जितेको छ। एमालेले १२ वडामा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले जम्मा एक पालिका जितेको छ ।
नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरमा एकपदमा पनि जित हात पार्न सकेन ।
निर्वाचन आयोगले भोलि (शुक्रबार) मात्रै विजयी घोषणा गर्ने जनाएको छ । शुक्रबार बिहान ६ बजे विजयी र्याली राष्ट्रियसभाबाट सुरु हुने र खुलामञ्चमा पुगेर धन्यवाद सभामा परिणत हुने जनाइएको छ ।
बालेन्द्र शाहका शुभचिन्तकहरु आज साँझ राष्ट्रिय सभा गृहमा पुगेका थिए । तर निर्वाचन आयोगले भोलिमात्रै औपचारिक घोषणा हुने जानकारी दिएपछि उनीहरु घर फर्किएका छन् ।
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका शाहले फराकिलो अन्तरले मेयर पदमा जित हात पारेका हुन् ।