काठमाडौं महानगरमा माओवादी शून्य, अरु दलको अवस्था कस्तो ?

  • प्रकाशित मिति : २०७९ जेष्ठ १२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । बैशाख ३० गते भएको निर्वाचनको अन्तिम मतगणना बिहीबार साँझ सम्पन्न भएको हो ।

३२ वडा रहेको काठमाडौं महानगरको सबै वडाको मतगणना सम्पन्न भएपनि औपचारिक घोषणा भने शुक्रबार बिहान मात्रै हुने भएको छ ।



काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् ।

३२ वडामा कांग्रेसले १९ वडाध्यक्ष जितेको छ । अघिल्लो पटक कांग्रेसले १२ वडा मात्रै जितेको थियो । नेकपा एमालेले १२ वडा जितेको छ ।

एमालेले अघिल्लो पटकभन्दा यसपटक ६ वडा गुमाएको छ । एमालेले २)७४ सालको स्थानीय तह निर्वाचनमा १८ वडाध्यक्ष जितेको थियो । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ ।

कांग्रेसले काठमाडौं महानगरका वडा नं ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडाध्यक्ष जितेको छ ।

वडाध्यक्ष जितेका अधिकांशमा कांग्रेसको प्यानल नै विजयी भएको छ । त्यस्तै एमालेले वडा नं १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१ र ३२ को वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादीले वडा नं १५ जितेको छ ।

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरमा एउटा पनि वडा जित्न सकेन । काठमाडौं जिल्लामै माओवादीको उपस्थिति शून्यप्राय बनेको छ ।