काठमाडौं। काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेन्द्र शाहका समर्थकहरु राष्ट्रिय सभा गृह अगाडि जम्मा भएका छन्। उनीहरु विजयी र्याली निकाल्ने तयारीमा छन् ।
निर्वाचन आयोगले काठमाडौं महानगरको अन्तिम परिणाम औपचारिक रुपमा घोषणा गर्न ढिलाई गरेको गुनासो शाहका समर्थकको छ ।
राष्ट्रिय झण्डा र लौरो बोकेर शाहका समर्थकहरु आइरहेका छन् ।
मतगणना बिहीबार साँझ सम्पन्न भएपनि आयोगले शुक्रबार बिहान ६ बजे औपचारिक घोषणा गर्ने जनाएको थियो तर बिहान आठ बजेसम्म मतपरिणाम सार्वजनिक गरिएको छैन ।
निर्वाचन आयोगले शाह निर्वाचित भएको औपचारिक घोषणा गरेलगत्तै उनका समर्थकले विजयी र्याली निकाल्ने तयारी गरेकाछन् ।
काठमाडौं महानगरका विभिन्न वडाहरु परिक्रमा गरेर रत्नपार्कमा पुगेर विजयी र्याली धन्यवाद सभामा परिणत हुने बताइएको छ ।
शाहले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शाहले फराकिलो अन्तरले मेयर पदमा जित हात पारेका हुन् ।
बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।
कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत ल्याएकी छन्।
एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।
आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।
उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।
उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए ।