काठमाडाैं। संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका छन्।
अहिले साँझ नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको विरोधमा पार्टी सम्बद्ध युवक,विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताहरूले राँके जुलुस प्रदर्शन गरेका हुन्।
नागरिकता भनेको कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको भन्दै राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठन युवक, विद्यार्थी र युवा मोर्चाले संसदबाट पास गरिएको नागरिकता विधेयकको विरोध गरेको हो।
विवाह गर्नासाथ कुनैपनि विदेशीले तत्काल नागरिकता पाउने नीति दुनियाँमा कहीँ नभएको भन्दै नेताहरूले आक्रोश व्यक्त गरे। सबै नेपालीले नागरिकता सरल र सहज रूपमा पाउने कुरामा दुईमत नभएको तर विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड्ने विषय अस्वीकार्य भएको नेताहरूले बताएका छन्।
सत्ता र स्वार्थ पूर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरूलाई जनताले दण्ड दिनुपर्ने उनीहरूको धारणा छ। विवाह गरेर आएकाहरूलाई समय सीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने प्रदर्शनकारीहरूको माग रहेको छ।
विशालनगरबाट सुरु भएको राँके जुलुस ढल्कु, भाटभटेनी, चाइनिज एम्बेसी हुँदै बालुवाटार पुग्दा प्रहरी हस्तक्षेप भएको छ, प्रदर्शनकारी विद्यार्थी नेता सन्दीप खड्का पक्राउ परेका छन्।