काठमाडौं। बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गराएकोबारे छानविन गर्न गठित संसदीय समितिले प्रतिवेदन तयार गरेको छ ।
समितिले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने भएको हो । १७ दिन लगाएर समितिले अध्ययन गरेपनि बजेट निर्माणमा मध्यरातमा अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रमाण नभेटिएको प्रतिवेदनमा उल्लेख छ ।
समितिले बिहीबार प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । नेकपा एमालेले भने प्रतिवेदनमा फरक मत राख्ने जनाएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको भूमिका शंकास्पद रहेको भन्दै एमालेले शर्मालाई निर्दाेष भन्न नसकिने बताएको हो । समिति सदस्य एवं एमाले नेता खगराज अधिकारीले एमालेको फरकमतसहित शुक्रबार अन्तिम प्रतिवेदन सभामुखलाई बुझाइने बताए ।
१० दिनको समय दिएर असार २२ गते गठन भएको समितिले ७ दिन लगाएर अध्ययन गरेको थियो । सीसीटीभी फुटेज अध्ययन, अर्थमन्त्रालयका उच्च अधिकारीका साथै बजेट निर्माणमा संलग्न सबैसँग समितिले सोधपुछ गरेको थियो । समितिले कुनै प्रमाण भेटाउन नसकेको एक सदस्यले बताए ।
जेठ १४ गते मध्यराति दुई जना अनधिकृत व्यक्तिलाई अर्थमन्त्री शर्माले मन्त्रालयमा बोलाएर बजेटका कर हेरफेर गर्न लगाएको आरोप लागेको थियो ।
संसददेखि सडकसम्म अर्थमन्त्रीको विरोध भएपछि उनले असार २२ गते नै राजीनामा दिएका थिए । तत्कालीन अर्थमन्त्री शर्माले आफूविरुद्ध मिडिया ट्रायल भएको दावी गर्दै बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको समाचार सत्य नभएको जीकिर गर्दै आएका थिए ।