लगातार तेश्रो जितको खोजिमा नेपालले आयोजक भारतको सामना गर्दै

  • प्रकाशित मिति : २०७९ श्रावण १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जारी अण्डर-२० साफ च्याम्पियनसिपको आफ्नो तेश्रो खेलमा नेपालले आईतबार आयोजक भारतको सामना गर्दैछ ।

च्याम्पियनसिप अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले भारतको सामना गर्ने भएको हो । भुवनेशवरस्थित कालिङ्ग स्टेडियममा हुने नेपाल र भारतबिचको खेल आइतबार साँझ ७:१५ बाट शुरु हुनेछ।



भारत नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो भने खेल रोचक साथै निकै प्रतिस्र्धात्मक हुने अनुमान गरिएको छ । किनकी उमेर समूह होस्, या सिनियर टोली अधिकांश प्रतियोगितामा नेपाल भारतसँग पराजित बनेको नजिता नेपाली फुटबलले स्विकार गर्दै आएको छ ।

कतिपय एशियाली क्षेत्रीय फुटबल प्रतियोगिताको फाइनलसम्म पुगेर पनि नेपाली पुरुष तथा महिला टोली भारतसँग पराजित हुँदै उापाधिबाट बिमुख बन्दै आएको धेरै रेकर्ड समेत छ । विगतको जस्तो नतिजा दोहोरिन नदिनको लागि आईतबार हुने भारतबिरुद्धको खेल नेपाली युवा टोलीले निकै सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

यसअघिका दुई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल नेपाली युवा टोली भोलि भारतसँग तीन अंक खोस्दै फाइनल उन्मुख बन्ने तयारीमा छ । यस्तै नेपाल लगातार तेश्रो जितको खोजिमा समेत हुनेछ ।

पहिलो खेलमा माल्दिभ्सलाई ४-० ले हराएको नेपालले दोश्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । आईतबार भारतलाई हराउँदै शिर्ष स्थानमा पुग्ने मौका समेत नेपाललाई रहेको छ । दुई खेलबाट ६ अंक जोडेको नेपाल अंक तालिको दोश्रो स्थानमा रहेको छ ।

यता भारत पनि नेपालसँग तीन अंककै लागि भिड्ने योजनामा छ । दुई खेलबाट ३ अंक् जोडेको भारत तेश्रो स्थानमा रहको छ । पहिलो खेलमा २(१ गोल अन्तरले पराजित भएको भारतले दोश्रो खेलमा श्रीलंकामाथि ४-० को जित निकालेको थियो ।

च्याम्पियनसिप अन्तर्गत आईतबार नै हुने अर्को खेलमा माल्दिभ्सले प्रतियोगिताबाट बाहिरीसकेको श्रीलंकाकाबिरुद्ध खेल्ने छ । माल्दिभ्स र श्रीलंकाबिचको खेल मध्याह्न्न ४:१५ बाट शुरु हुनेछ । यसअघिका दुवै खेल हारेको माल्दिभ्स अंकबिहिन रहँदै चौंथो स्थानमा रहेको छ ।

च्याम्पियनसिपमा लगातार तेश्रो जितमा निकालको बंगलादेश भने ९ अंकका साथ अहिले शिर्ष स्थानमा छ । दोश्रो स्थानमा रहेको नेपालले चौंथो तथा लिग चरणको अन्तिम खेल बंगलादेशसँग मंगलबार खेल्नेछ । लिग चरणका उत्कृष्ट २ टोलीले अगष्ट ५ तारिखमा उपाधिका लागि भिडन्त गर्नेछन् ।