जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने, आजै सपथ

  • प्रकाशित मिति : २०७९ श्रावण १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थ मन्त्रालयमा फर्किने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

करका दर हेरफेर गरेको आरोपमा राजीनामा दिएका शर्मालाई संसदीय छानविन समितिले क्लिन चिट दिएसँगै उनी अर्थमन्त्रीको रुपमा फर्किने भएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीमा फर्काउने इच्छा देखााएपछि शर्मा अर्थमन्त्रीको रुपमा फर्किने पक्का भएको हो।



संसदीय विशेष छानविन समिति गठन भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। शर्मालाई अर्थमन्त्री बनाउने देउवाले चाहना राखेपछि उनले मन्त्री क्वाटरसमेत छोडेका छैनन्।

शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसकै कुनै नेतालाई अर्थमन्त्रालयको जिम्मवारी दिन पार्टीभित्र प्रधानमन्त्रीलाई दबाव परेको थियो। तर काम गर्न सजिलो भन्दै प्रधानमन्त्रीले शर्मालाई नै अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्।

संसदीय विशेष छानविन समितिले शर्मालाई ‘क्लिन चिट’ दिएसँगै शर्मा नै अर्थमन्त्री बन्ने पक्का भएको हो। तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसदीय छानविन समितिको प्रतिवेदन आफूहरुलाई मान्य नहुने बताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका हुन्। ओलीले सत्ता गठबन्धनको बहुमत हुने गरी समिति बनाइएको र त्यस्तो समितिले ल्याएको प्रतिवेदन आफूहरुलाई मान्य नहुने बताएका हुन्।