जनार्दनको ‘इन्ट्री’ले झस्किए अर्थसचिव मरासिनी, बिदा स्वीकृत नगराई बिदामा

  • प्रकाशित मिति : २०७९ श्रावण १६, सोमबार
  • nepaltale.com

काठमाडौँ। अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय जान छाडेका छन् । आइतबार अर्थमन्त्रालयमा जनार्दन शर्मा नियुक्त भएसँगै सचिव मरासिनी बिदा लिएर पोखरा पुगेका हुन् ।

शर्माको नियुक्तीसँगै सचिव मरासिनी मन्त्रालयमा अनुपस्थित रहेको स्रोतले जानकारी दियो । गत जेठ १४ गते आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा मन्त्री शर्मा र सचिव मरासिनीबीच विवाद रहँदै आएको छ । मरासिनी आइतबार अर्थमन्त्री शर्माको स्वागतमा अनुपस्थित भएका थिए ।

यता अर्थ मन्त्रालयले सचिवको बिदा बारे आफूहरुलाई जानरी नहुने बताएको छ । मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले सचिव मरासिनीको विदाबारे औपचारिक जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिव मरासिनी बिदा स्वीकृत नगराई बिदामा बसेको जनाएको छ ।

‘उहाँ (मरासिनी) को बिदाबारे हामीलाई पनि जानकारी छैन् । किनकी उहाँले पत्र पठाएपछि मात्रै हामीलाई थाहा हुने हो,’ प्रधानमन्त्री कार्यालयका उपसचिव गोकुल बस्नेतले भने, ‘आकस्मिक बिदा, घर बिदा, बिरामी बिदासमेत लिन सकिन्छ यस्ता बिदाबारे हामीलाई जानकारी हुँदैन् ।’

शर्मा मन्त्रालयमा रहेसम्म आफू मन्त्रालय नजाने बताइसकेका मरासिनीले गत असार २२ गतेसम्म शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नजाने अडान लिएका थिए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मा मन्त्रालयमा रहेसम्म आफू कार्यालयमा हाजिर नहुने बताएका थिए । शर्माले राजीनामा दिएको भोलीपल्ट अर्थात असार २३ गतेदेखि मरासिनी मन्त्रालयमा हाजिर भएका थिए ।

उनीमाथि जेठ १४ गते बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दायर हेरफेर गराएको आरोप लागेको थियो ।

उक्त विषयमा छानबिन गर्न विशेष समिति गठन गरिएको थियो । समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउँदै शर्मा निर्दोष प्रमाणित गरेको थियो । सोहीअनुसार शर्मा मन्त्रालय फर्किएका हुन् ।