बेलायतको ५६ औँ प्रधानमन्त्री नियुक्त भइन् ट्रस

  • प्रकाशित मिति : २०७९ भाद्र २१, मंगलवार
  • nepaltale.com

लन्डन। बेलायतको ५६ औँ प्रधानमन्त्रीमा लिज ट्रस नियुक्त भएकी छन्।

सोमबार मात्रै सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चयन भएकी ट्रसलाई बेलायती महारानी एलिजावेथ द्वीतीयाले देशको प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

प्रधानमन्त्रीमा औपचारिक रुपमै नियुक्त हुनुअघि ट्रस महारानीलाई भेट्न स्कटल्याण्डको बाल्मोरल प्यालेसमा पुगेकी थिइन्।त्यसअघि निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले पनि स्कटल्याण्ड पुगेर महारानीलाई भेटेसंगै उनको राजीनामा स्वीकृत भएको थियो।

सामान्यत: पुरानो र नयाँ प्रधानमन्त्रीको बिदाइ तथा नियुक्ति लन्डनस्थित् बकिङहम दरबारमै हुने प्रचलन रहेको भएपनि हाल स्कटल्याण्ड रहेकी महारानीको स्वास्थ्य अवस्थालाई ध्यान दिंदै यसपटक उतै गरिएको हो।

४७ वर्षीया ट्रस बेलायतकी तेस्रो महिला प्रधानमन्त्री बनेकी छन्। पार्टीभित्रको करिब दुई महिना लामो प्रतिस्पर्धा जित्दै उनी पार्टी नेता चुनिएकी हुन्।

नवनियुक्त प्रधानमन्त्री ट्रस अपरान्ह लन्डन फर्किएपछि १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट आफ्नो पहिलो सम्बोधन गर्ने कार्यक्रम छ।