टायर फेर्न नसक्दा दिल्ली उड्न सकेन नेवानिको जहाज

  • प्रकाशित मिति : २०७९ भाद्र २९, बुधबार
  • nepaltale.com

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० (९ एन–एएलजेड) जहाज एउटा पांग्रा फेर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएको छ । जसका कारण त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२५ बजे दिल्ली जाने तयारीमा रहेका २१५ जना र दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २७० जना यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।

नियमित रुपमा परिवर्तन गर्नुपर्ने पछाडिको टायर निगम व्यवस्थापनले फेर्न नसक्दा उडान नै रोकिने अवस्था आएको निगमका एक अधिकारीले जानकारी दिए । एउटा निगमको छविमै प्रश्न चिन्ह उठेको छ । जहाजको टायर फेरेर आजै ५ बजेसम्म जहाज उडाउने तयारी भइरहेको ती अधिकारीले जानकारी दिए ।

अहिले यात्रुहरुलाई विमानस्थल भित्रै व्यवस्थापन गरिएको भएपनि कतिपय यात्रु दिल्लीबाट तेस्रो मुलुक जानु पर्ने हुँदा समस्यामा परेको उनले बताए । यसअघि अर्को वाइडबडी जहाजमा प्राविधिक समस्या देखिएपछि आज बिहान अबेर मात्र जापान उडेको छ ।

निगमको एक न्यारोबडी जहाज ए३२० जहाज एक महिनादेखि मर्मतका लागि ग्राउण्डेड अवस्थामा छ । जसले गर्दा निगमले आकस्मिक अवस्थामा उडान व्यवस्थापन मिलाउन सकेको छैन ।