नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि आफू उम्मेदवार हुने औपचारिक घोषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्न मा बोल्दै उनले पार्टी नेतृत्व सम्हाल्ने दाबी गरेका हुन्।
“म १५औँ महाधिवेशनको सभापतिका लागि उम्मेदवार हुँ,” थापाले भने, “नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व दिनेछन् भन्ने विश्वास छ।”
उनका अनुसार महाधिवेशन नजिकिँदै गरेको अवस्थामा सभापति पदको दाबी स्वाभाविक भएको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।