दशै टीकाको उत्तम साइत ११ :५१ बजे

  • प्रकाशित मिति : २०७९ आश्विन १, शनिबार
  • nepaltale.com

काठमाडौं। यस वर्ष विजयादशमीको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन र ११:५१ बजे टिकाको साइत रहेको जनाएको छ ।

समितिका अनुसार असोज १० गते सोमवार नवरात्रारम्भ अर्थात घटस्थापनाको साइत बिहान १०ः२३ बजे, असोज ११ गते मंगलवार झण्डा फेर्ने साइत बिहान ११ः११ बजे (पूर्व मोहडा) परेको हो ।

त्यस्तै, असोज १४ गते शुक्रवार श्री पचलीभैरव यात्रा, १६ गते आइतवार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः ३५ बजेको छ । १७ गते सोमवार महाष्टमी अर्थात कालरात्रि परेको छ भने १८ गते मंगलवार महानवमी परेको छ ।

असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ ।

असोज २२ गते शनिबार बलिपूर्ति, २३ गते आइतबार कोजाग्रत पूर्णिमा र बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।