काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गत त्रिवि क्रिकेट मैदान भएको ओमान विरुद्धको खेल कीर्तिमानमय बनेको छ। एकदिवसीय खेलमा ३११ रनको लक्ष्य दिएर नेपालले हालसम्मकै उच्च स्कोरको रेकर्ड बनायो। यसअघि गतमहिना आईसीसी विश्वकप लिग-२ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन नै उच्च स्कोर थियो।
ओमनविरुद्ध नेपालले ८४ रनको जित हात पारेको छ। त्रिविस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाललाई ओमनलाई हराउँदै लगातार दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। जवाफमा ४६ दशमलव ३ ओभरमा २२६ रन बनाएर ओमान अलआउट भयो। ओमानका एक खेलाडी अकिब इल्यास सुलेहरी भने घाइते भएका कारण ब्याटिङमा उत्रिन सकेनन्।
कुशल मल्लका दुई रेकर्ड
ओमानमाथि जित निकाल्ने क्रममा नेपालका दुई खेलाडीले कीर्तिमान बनाएका छन्। नेपाललाई जितउन्मुख बनाउँदै ब्याटर कुशल मल्लले शतकीय पारी खेले।
मल्लले सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडीको कीर्तिमान बनाए। उनले ५९ बलमा शतक पूरा गर्दै उक्त कीर्तिमान बनाएका हुन्। कुनै पनि नेपाली ब्याट्सम्यानले ओडीआईमा बनाएको यो सर्वाधिक छिटो शतक हो। यसअघि ९१ बलमा सतक पूरा गरेर सर्वाधिक छिटो सतक बनाउने खेलाडी रोहित पौडेल बनेका थिए। नेपाली कप्तान पौडेलको कीर्तिमानलाई कुशलले शुक्रबार तोडे। कुशलले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै सतक पूरा गरेका हुन्।
उनले सर्वाधिक छक्का ९ चौका र १० छक्कासहित १ सय ८ रन बनाएका हुन्। अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक धेरै छक्का हान्ने खेलाडी पनि मल्ल बनेका छन्। यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पारस खड्का र ज्ञानेन्द्र मल्लले एकै खेलमा समान ९ छक्का प्रहार गरेका थिए।
कुशलले डेब्यु एकदिवसीय खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए। त्यो समय उनी एकदिवसीय खेलमा अर्धशतक बनाउने कान्छा खेलाडी (१५ वर्ष ३४० दिन उमेर) बने। त्यसअघि उक्त किर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो।
एक दिवसीयमा सतक प्रहार गर्ने कुशल नेपालका छैटौं ब्याट्सम्यान हुन्। यसअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि शतक प्रहार गरिसकेका छन्।
सन्दीपले तोडे राशिदको कीर्तिमान
नेपालका स्पिनर सन्दीप लामिछाने ओडीआई क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। एसीसी पुरुष प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा पहिलो विकेट लिँदै उनले ओडीआईमा १०० विकेट पुर्याएका हुन्।
विश्व कीर्तिमान बनाउने क्रममा उनले ४२ ओडीआई खेलमा १०० विकेट लिए। ओडीआईमा सर्वाधिक छिटो १०० विकेट लिने कीर्तिमान अहिलेसम्म अफगानिस्तानका राशिद खानको नाममा थियो। शुक्रबार सन्दीपले उक्त किर्तीमान तोडेका हुन्।
अफगानिस्तानका स्पिनर खानले २०१८ मा उक्त रेकर्ड बनाएका थिए। उनले ४४ खेलमा ओडीआईमा १०० विकेट पूरा गरेका थिए। खानपछि अस्ट्रेलियाका मिचेल स्टार्क छन्। उनले ५२ खेलमा ओडीआईमा १०० विकेट पूरा गरेका थिए। यसैगरी पाकिस्तानका सक्लेन मुश्ताकले ५३, न्युजिल्यान्डका शेन बोन्डले र मुश्ताफिजुर रहमानले समान ५४ खेलमा १०० विकेट पूरा गरेका छन्। अस्ट्रेलियाका ब्रेट लीले ५५, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र भारतका मोहम्मद शामीले ५६–५६ खेलमा एक सय विकेट पूरा गरेका छन्।
ओडीआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने लामिछाने विश्वकै दोस्रो खेलाडी हुन्। सन्दीपले २२ खेलमा ओडीआईमा ५० विकेट पूरा गरेका थिए। श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा ५० विकेट लिँदै सर्वाधिक छिटोको कीर्तिमान कायम राखेका छन्।