विमान उड्ने क्रममा चरा ठोक्कियो, सुरक्षित रूपमा दुबई आउँदैछ : फ्लाई दुबई

  • प्रकाशित मिति : २०८० बैशाख ११, सोमबार
  • nepaltale.com

काठमाडौँ। फ्लाई दुबईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको जनाएको छ । फ्लाई दुबईका प्रवक्तालाई उद्धत गर्दै दुबई सरकारको मिडिया कार्यालयको फेसबुकमा पेजमा विमान उड्नेबित्तिकै चरा ठोकिएको उल्लेख छ।

‘फ्लाइ दुबईका प्रवक्ता: काठमाडौं विमानस्थलबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल आउँदै गरेको फ्लाई दुबईको फ्लाइट ५७६ फएजेमा काठमाडौंमा चरा ठोक्किएको थियो,’ दुबई मिडिया अफिसको फेसबुक पेजमा भनिएको छ ।

काठमाडौं विमानस्थलबाट ९ बजेर २१ मिनेटमा उडान भरेको विमानबाट ठूलो आवाज आएको र आगोको झिल्को देखिएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । विमानले आफ्नो बायाँ इन्जिनमा आगो लागेको जानकारी गराएको थियो । धादिङको धार्कोमाथि फन्को लगाउँदै विमानले इन्जिन सामान्य रुपमा रहेको जानकारी गराएपछि विमानलाई दुबई लैजाने जानकारी एयर ट्राफिकलाई गराएका थिए ।

‘फ्लाइट ५७६ फएजे नेपालको राजधानी काठमाडौंबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थल आउने क्रममा उडान भर्नेबित्तिकै चरा ठोक्किएको थियो, फ्लाइ दुबईका प्रवक्ताले पुष्टि गरेका छन्,’ सरकारी मिडिया कार्यालयले जनाएको छ ।

उडानको आवश्यक सुरक्षा प्रक्रिया पूरा गरेपछि विमान सामान्य अवस्थामा दुबईतर्फ आउँदै गरेको जनाएको छ । विमानमा १ सय ६८ यात्री र ७ जना चालक दलका सदस्य गरि १ सय ७५ जना सवार थिए । यो समाचार तयार गर्दासम्म विमान पाकिस्तानी हवाई क्षेत्रमा पुगिसकेको छ । दुबईको स्थानीय समयअनुसार रातको १२ बजेर १४ मिनेटमा अवतरण हुने दुबई सरकारी मिडिया कार्यालयले जनाएको छ ।