सन्दीपको अलराउन्ड प्रदर्शनमा कतारमाथि नेपालको जित, बन्यो समूहविजेता

  • प्रकाशित मिति : २०८० बैशाख १४, बिहीबार
  • नेपाल टेल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा कतारलाई हराउदै नेपाल समूह ‘ए’ को विजेता बनेको छ । अब फाईनल प्रबेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ ।

जितको लागि नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले २५.१ ओभरमा अलआउट हुदै ८९ रन बनायो । कतारका लागि जाहीर ईब्राहिम र खुराम शेहजादले समान १५ रन बनाउदा ओपनर कमरान खान ८ रनमा क्याच आउट भए ।

यस्तै, कतारका प्रमुख ब्याटर इमाल लियानागे ६ रन बनाउदा आमिर फारुक १४ रनमा सिमित रहे । कतारका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ब्याटिङमा खराब प्रदर्शन गरेको नेपालले बलिङ भने उत्कृष्ट गर्यो । नेपालको जितमा स्पिनर सन्दीप लामिछानेले सर्बाधिक पाच विकेट लिए । यस्तै, सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।

त्यसअघि टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिएका । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरेका थिए ।

यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।

बलिङतर्फ कतारका क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । आमिर फारुकले चार विकेट लिदा मुनाविराले २ विकेट लिए भने इक्रमउल्लाह खानले एक विकेट लिए ।