टेष्ट राष्ट्रसँग खेल्दा ठूलो सिकाइ भयो : रोहित पौडेल

  • प्रकाशित मिति : २०८० असार ७, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट खेलमा टेष्ट राष्ट्र वेष्ट इण्डिजविरुद्ध खेल्दा धेरै कुरा सिकेको नेपाली क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।

बिहीबार वेष्ट इजिण्डविरुद्ध १०१ रनको फराकिलो हार बेहोरे पनि धेरै ठूलो सिकाइ भएको उनले बताए । खेलपछि पौडेलले भने, ‘धेरै ठूलो सिकाइ भयो, टेष्ट राष्ट्रले मलाई धेरै सिकायो ।’ बलिङ राम्रै गरेपनि केही क्याच छोड्दा अवसर गुमेको उनले बताए ।



‘सामान्यतयाः हामी राम्रो फिल्डिङ गर्छौ, तर आज हामीले केही अवसर गुमायौं’ पौडेलले भने । त्यसको फाइदा वेष्ट इण्डिजका कप्तान साइ होप र निकोलस पुरनले उठाएको उनले बताए । १५.३ ओभरमा ४६ रन हुँदा ब्याटिङमा आएका पुरनसँग होपले २१६ रनको साझेदारी गरेका थिए ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई सात विकेटको क्षतिमा वेष्ट इण्डिजले ३४० रनको लक्ष्य दिएको थियो । तर नेपालले अलआउट हुँदै २३८ रन मात्रै बनाउन सक्यो ।