तरूण सरदेशाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षक नियुक्त

  • प्रकाशित मिति : २०८० असार ११, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाल गल्फ संघले चीनमा आयोजना हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि तरूण सरदेशाईलाई प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाल गल्फ संघ र तरूण सरदेसाईबीच एसियन गेम्सको प्रशिक्षणका लागि सम्झौता भएको हो । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेशाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहनेछन्।



नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक दिपक आचार्य टिमको सहायक प्रशिक्षक रहेका छन् । एसियाड सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्झाओमा‌ हुनेछ ।

तरूण सरदेशाईको नेतृत्वमा नेपाली टिमले भारतको बैंगलोर स्थित तरूण सरदेसाई गल्फ एकेडेमीमा प्रशिक्षण सुरू गरिसकेको छ । एसियाडमा प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवाश तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देलले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा नेपाली टिमलाई विशेष प्रशिक्षणको लागि बैंगलोर पठाएको हो। नेपाल नम्बर एक एमरच्योर गल्फर सुवाशसँगै सदभाव आचार्य गत एक वर्षदेखि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका थिए। बन्द प्रशिक्षणकै दौरान सुवाश र सदभावले जुलाई १५ देखि १९ सम्म अर्किड कन्ट्री क्लबमा हुने सिंगापुर एमेच्योर ओपनमा सहभागीता जनाउनेछन्।