नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रारम्भिक टिममा ३ खेलाडी थपेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार भिन्सेन्जोले प्रारम्भिक टिममा ३ खेलाडी थपेका हुन् । यससँगै प्रारम्भिक टिममा ३३ खेलाडी पुगेको छ ।
भिन्सेन्जोले फ्रेन्ड्स क्लबका मिडफिल्डरद्वय सन्तोष खत्री र कुशल फुयाल तथा जावलाखेल युथ क्लबका फरवार्ड हिसब थपलियालाई टिममा बोलाएका हुन् ।
नेपालले २०२६ को फिफा विश्वकपको प्रारम्भिक चरणको छनोटमा लाओसविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालले लाओसविरुद्धको पहिलो लेग अक्टोबर १२ तथा दोस्रो लेग अक्टोबर १७ मा खेल्ने तालिका रहेको छ ।
भिन्सेन्जोले जनाएअनुसार मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडीहरु क्लब प्रतियोगितामा व्यस्त हुने भएकाले थप खेलाडीलाई टिममा बोलाइएको बताए ।