भारतविरुद्ध वेस्ट इन्डिजको शानदार जित

  • प्रकाशित मिति : २०८० श्रावण १४, आईतवार
  • nepaltale.com

भारतविरुद्धको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली वेस्ट इन्डिज विजयी भएको छ ।

शनिबार राति ब्रिजटाउनमा भएको खेलमा वेस्ट इन्डिजले भारतलाई ६ विकेटले पराजित गरेको हो । यससँगै ३ खेलको सिरिज १-१ को अवस्थामा पुगेको छ । पहिलो खेल भने भारतले ५ विकेटले जितेको थियो । सिरिजको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ ।

शनिबार राति भएको खेलमा १ सय ८२ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले ३६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजलाई जित दिलाउन कप्तान शाई होपले अविजित ६३ रन तथा केस्सी क्याटीले अविजित ४८ रन बनाए ।

भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ४० ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ८१ रन जोड्यो । भारतका लागि इशान किशनले सर्वाधिक ५५ रन बनाए ।

वेस्ट इन्डिजका लागि गुडाकेसा मोटी र रोमारियो शेफर्डले समान ३-३ विकेट हात पारे ।