काठमाडौँ । इङल्याण्डका टेस्ट कप्तान बेन स्टोकले एकदिवसीय क्रिकेटबाट लिएको सन्यास तोडेका छन् ।
अघिल्लो बर्ष जुलाईमा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका स्टोक इङल्याण्डको आगामी न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा टिममा फर्किएसँगै उनले सन्यास तोडेका हुन् ।
उनले अन्तिम पटक इङल्याण्डका लागि २०२२ को जुलाई १९ मा दक्षिण अफ्रिकाविरुद्ध एकदिवसीय खेल खेलेका थिए ।
उनले एकदिवसीय खेलमा १०५ खेलमा ३ शतक र २१ अर्धशतकसहित २९२४ रन बनाएका छन् भने ७४ विकेट समेत लिएका छन् ।
स्टोकले आगामी एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै सन्यास तोडेका हुन् । इङल्याण्ड एकदिवसीय विश्वकपको डिफेन्डिङ च्याम्पियन समेत हो । २०१९ मा इङल्याण्डमै भएको विश्वकप जित्दा स्टोक महत्वपूर्ण खेलाडी थिए । अब इङल्याण्डले भारतमा हुने यस विश्वकपमा उपाधि रक्षा गर्ने रणनीति अन्तर्गत स्टोकको सन्यास तोडाएको छ ।
इङल्याण्डले न्यूजील्याण्डविरुद्धको सिरिजका लागि स्टोकको नाम समावेश गरेको छ ।
इङल्याण्डले न्यूजील्याण्डविरुद्ध ३० अगस्त देखि ५ सेप्टेम्बरसम्म ४ खेलको टी-२० सिरिज र ८ सेप्टेम्बरदेखि १५ सेप्टेम्बरसम्म ४ खेलको एकदिवसीय खेलको सिरिज खेल्दै छ ।
इङल्याण्डको एकदिवसीय टिम: जोस बटलर (कप्तान), मोइन अली, गस अटकिन्सन, जोनी बैरस्ट्रव, साम कुरान, लियाम लिभिङस्टोन, डविड मलान, अदिल रशिद, जो रुट, जासन रोय, बेन स्टोक, रीस टपले, डेभिड विली, मार्क वूड र क्रिस वोक्स ।