साउदी टिमलाई च्याम्पियन्स लिगमा सहभागी गराउने प्रयास !

  • प्रकाशित मिति : २०८० श्रावण ३२, बिहीबार
  • नेपाल टेल

काठमाडौँ । साउदी प्रो लिगले आफ्नो लिग विजेता टिमलाई युरोपको च्याम्पियन्स लिगमा सहभागी गराउने अभियान शुरु गरेको छ ।

मिडिया रिपोर्टका अनुसार साउदी अधिकारीहरुले च्याम्पियन्स लिगमा साउदी लिग विजेतालाई ‘वाइल्ड कार्ड’ दिएर खेल्न दिन युरोपियन फुटबल फेडेरेसनलाई प्रस्ताव गरेका छन् । उनीहरुले २०२४-२५ सिजनदेखि साउदी टिमलाई च्याम्पियन्स लिगमा सहभागी गराउन प्रस्ताव गरेको बताइएको छ ।

साउदी अरेबियाले अहिलेको च्याम्पियन्स लिगको संरचनालाई परिवर्तन गर्दै टिम बढाउन समेत प्रस्ताव गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अहिलेको च्याम्पियन्स लिगमा ३२ टिमले भाग लिने भएकाले नयाँ टिमका लागि ठाउ देखिदैन । तर युइएफएले ३६ टिम बनाएर जान सकिने सम्भावनामा छलफल शुरु भएको बताइएको छ । यसले च्याम्पियन्स लिगका खेल समेत बढ्ने र साउदी टिमलाई सहभागी गराउन सकिने सम्भावना देखिएको छ ।

यदि युइएफएले साउदीको प्रस्तावलाई स्वीकार गरेमा क्रिस्टियानो रोनाल्डो, करिम बेन्जमा, नेइमार जस्ता सुपर स्टार खेलाडीहरु फेरी युरोप फर्किन सक्ने वातावरण बन्न सक्ने छ । साउदी अधिकारीहरुलाई युइएफएलाई मनाउन अझै मिहिनेत गर्नुपर्ने बताइएको छ । साउदी लिगमा सुपर स्टार खेलाडीको आगमनले विश्वभर यस लिगको चर्चा त शुरु भएको छ तर च्याम्पियन्स लिगमा सहभागिता हुने भएमा यसको दायरा अझ फराकिलो हुने देखिएको छ ।